चीनसँगको सम्बन्ध हिम नदीझैं स्वच्छ र अविछिन्न छः प्रधानमन्त्री ओली

by समतल अनलाइन

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध हिमालझैं उच्च र अटल रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफल कार्यक्रमको सोमबार उद्घाटन गर्दै दुई मुलुकबीचको सम्बन्धलाई हिम नदीझैं स्वच्छ र अविछिन्न रहेको पनि बताए । प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको मित्रता खुला, स्वतन्त्र र अटल रहेको पनि स्पष्ट पारे ।

दुई मुलुकबीचको मित्रता स्वर्थहरुको लेनदेनभन्दा माथि तथा आपसी सम्मान, शान र सहयोगमा आधारित रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘हाम्रा मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौं,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘हाम्रो मित्रता स्वार्थहरुको लेनदेनभन्दा धेरै माथि छ, आपसी शान, सम्मान अनि सहयोगमा आधारित छ । हाम्रो दुई देशबीच समस्यारहित सम्बन्ध छ । हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगको भावनामा अघि बढाईरहेका छौं ।’

प्रधानमन्त्री ओलीले समयक्रममा दुई देशबीच आईपर्ने समस्याहरुलाई मैत्रीपूर्ण आपसी संवादको माध्यमबाट अघि बढाउने पनि बताए । उनले नेपाल ‘एक चीन नीति’प्रति स्पष्ट र दृढ रहेको पनि दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले नेपाल चीनसँगको सहकार्यबाट विकास निर्माणको कामलाई अघि बढाउन सक्नेमा विश्वस्त रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै नेकपाका अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्युनिष्ट पार्टीले संसारमा कुनै शासन व्यवस्थाले दिन नसकेको आत्मसम्मान, गौरव र आर्थिक विकास चिनियाँ जनतालाई दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए । उनले चिनियाँ कम्युनिष्ट पार्टीले वैचारिक स्पष्टता र अनुशासनको बलमा आर्जन गरेको आर्थिक समृद्धिबाट नेपालले पनि सिक्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

कार्यक्रममा बोल्दै चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवम् विदेश विभाग प्रमुख सोङ ताओले जनताको जीवनस्तर सुधारमा लाग्न नेपाल कम्युनिष्ट पार्टीलाई सुझाव दिएका थिए । दुई दिनसम्म चल्ने सो छलफलमा दुई कम्युनिष्ट पार्टीको विचारधारा ‘सी जीनफिङ विचारधारा’ र नेपाल कम्युनिष्ट पार्टीको ‘जनताको बहुदलीय जनवाद’बारे खुलेर छलफल हुनेछ ।

 
 
  
 

You may also like