काठमाडौं। सेनाले शासन सत्ता हातमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ ।
आन्दोलनमा सहभागी अन्य तीन हजार एक सयभन्दा बढी नागरिकलाई सुरक्षाकर्मीले पक्राउ गरी थुनामा राखेका छन् । गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै नेताहरुलाई पक्राउ गर्न सुरु गरेको थियो । सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेका छन् ।
अनुगमनकर्ताहरुले सार्वजनिक गरेको विवरणअनुसार अरु सयौँ व्यक्ति आन्दोलनका क्रममा घाइते भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात छ । गत शुक्रबार एकै दिनमा सुरक्षाकर्मीहरुको आक्रमणमा परी देशको बागो क्षेत्रमा कम्तीमा ८२ जनाको मृत्यु भएको छ । केही हप्ता अगाडि म्यानमारमा प्रदर्शनकै क्रममा एकैदिनमा सयभन्दा बढीको सेनाले हत्या गरेका थिए ।
गत वर्ष सन् २०२० को नोभेम्बर ८ का दिन भएको निर्वाचन र त्यसको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले म्यानमारको सत्ता नियन्त्रणमा लिएको हो । सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेशनल लिग फर डिमोक्यासी’ दल निर्वाचित भएको थियो । चुनावमा धाँधली भएको सेनाको दाबीलाई निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।
सेनाले निर्वाचन निश्पक्ष नभएको दाबी गर्दै फेरि निर्वाचन गराउन भन्दै सत्ता नियन्त्रणमा लिनुपरेको जनाएको छ । सेनाले निर्वाचन गराउने भन्दै एक बर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । तत्कालीन नयाँ संसद्को पहिलो बैठक बस्न लागेकै दिन सेनाले सत्ता नियन्त्रणमा लिएपछि अहिले म्यानमारको राजनीति थप संकटतर्फ धकेलिएको छ ।
सेनाले नियन्त्रणमा रहेकी नेतृ आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् । उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअमा पाँच र याङ्गुमा एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सोले जानकारी दिएका छन् । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गतको हो । एजेन्सी