काठमाडौं। खुद्रा व्यापारीहरूले तरकारीको मूल्य मनपरी रूपमा लिन थालेका छन् । कालीमाटी र बल्खु तरकारी बजार जस्ता थोक तरकारी बजारले तोकेको मूल्यभन्दा दोब्बर बढी मूल्यमा खुद्रा व्यापारीहरूले तरकारी विक्री गरेको पाइएको छ ।
सरकारी संयन्त्रले बजार अनुगमनमा देखाएको लाचारीपनका कारण व्यापारीहरूले मनपरी रूपमा मूल्य लिने मौका पाएको सरोकारवालाहरू बताउँछन् । व्यापारीहरूले काउली, काँक्रो, गाजर, घिउसिमी, ब्रोकाउली, भिन्डी, गोलभेडालगायत हरियो तरकारीको मूल्यमा मनपरी मूल्य लिने गरेको पाइएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्यसूचीअनुसार सोमवार काउलीको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ तर खुद्रा बजारमा भने ८० देखि ९० रुपैयाँ किलोसम्म विक्री भइरहेको छ । प्रतिकिलो ९० रुपैयाँ रहेको लोकल काँक्रोको मूल्य पनि यति बेला १ सय १० रुपैयाँसम्ममा खुद्रा व्यापारीले लिइरहेका छन् ।
१ सय रुपैयाँ प्रतिकिलो थोक मूल्य रहेको भिन्डीको मूल्य पनि खुद्रा बजारमा १ सय ५० रुपैयाँसम्म रहेको छ । ९० रुपैयाँ किलोको ब्रोकाउली १ सय ३०, ५० रुपैयाँ किलोको गाजर ८० रुपैयाँ र १ सय रुपैयाँ प्रतिकिलोको घिउसिमीको मूल्य १ सय ४० रुपैयाँसम्म रहेको छ ।
कीर्तिपुर, कलंकी, कुलेश्वर, कालीमाटी, लगनखेललगायतका खुद्रा बजारमा व्यापारीहरूले अस्वाभाविक रूपमा तरकारीको मूल्य मनपरी रूपमा लिने गरेका छन् । आर्थिक अभियान दैनिकबाट
प्रतिक्रिया दिनुहोस्