सिरहामा सुनचाँदी व्यापारीको घर लुटपाट, पार्किङमा राखिएको जीप लिएर भागे लुटेरा

सिरहा। सिरहाको लहान नगरपालिका–७ का एक सुनचाँदी व्यापारीको घरमा लुटपाट भएको छ ।
सोमबार राति हतियारधारी समूहले सुनचाँदी व्यापारी राजेश सारडाको घरमा लुटपाट गरेको हो । हतियारधारी समूह राजेशको घरमा प्रवेश गरी उनका पिता भगीरथ सारडा र श्रीमतीलाई नियन्त्रणमा लिएर सुनचाँदी लुटपाट भएको प्रहरीले जानकारी दिएको छ ।

लुटेराहरू घरमा प्रवेश गरे लगत्तै प्रतिकारमा उत्रिएका भगीरथ र राजेशकी श्रीमतीमाथि पनि आक्रमण भएको छ । आक्रमणमा परेर उनीहरु दुवै जना घाइते भएका छन् । करिव ७–८ जनाको समूहमा आएका हतियारधारी लुटेरा समूहले लकर फोडेर सुनचाँदी लुटेको पीडित परिवारको भनाई छ ।

लुटेराहरूले सारडाको जीप समेत लिएर भागेका छन् । घरमा पार्किङ गरी राखिएको जीपको साँचो बलजफ्ती लिएर हतियारधारी लुटेरा समूह भागेको भगीरथले बताए । घरभित्र तीन जना हतियारधारी समूह प्रवेश गरेको उनले बताए ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दाहालका अनुसार शनिबार रातिको घटनाको प्रकृतिसँग यो घटना मिल्दोजुल्दो देखिएको बताए । शनिबार राति लहान नगरपालिका–२३ स्थित सुनचाँदी व्यापारी प्रदीपकुमार मिझारको हत्या भएको थियो ।
‘त्यही समूहले यो घटना घटाएको हो कि भन्ने शंका छ । हामी हतियारधारी समूह र उनले लिएर भागेको सारडाको जिप खोज्दैछौं’ उनले भने, ‘सूचना पछ्याउँदै छौं, सफलता हात परेको छैन ।’

 

 
 
  
 

You may also like