ताजा जनादेशमा नगई देश अघि बढ्न सक्दैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भएको बताएका छन् । आज (शनिबार) बालुवाटारमा आयोजित रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै उनले चुनावमा नभई देश अघि बढ्नै नसक्ने दावी गर्दै ढिलोचाँडो निर्वाचन भई छाड्ने बताए । ‘यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने देश र जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंक गणित भन्दा माथिको कुरा हो’, उनले थपे, ‘देशको आवश्यकता, जनताको आकांक्षा, अंक गणितको लागि छाड्ने कि देश र जनताको आवश्यकताका लागि अंक गणित परिवर्तन गर्ने ?’

‘हामीले संसद गरेको विघटन त्यही अर्थमा हो । कसैको स्वार्थमा ठेस लागोस्– नलागोस्, राष्ट्रिय आवश्यकतासँग तादम्यता राखेन, राख्न कोशिस गर्दा भएन’, उनले भने, ‘मेरो विचारमा ढिलोचाँडो जनादेशबाट अहिलेको अंक गणितमा हेरफेर नगरी र अनुकूल अंक गणित बिना देश अगाडि स्मुथली जानै सक्दैन ।’

उनले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोप पनि लगाए । आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफबाह फैलाउने गरेको पनि उनको दावी छ ।

आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्कवितरर्क गरेर सरकारको विरोध गर्न खर्चिएको उनको भनाइ छ । उनले विरोधमा सरकारलाई तानाशाही भन्नेहरुले त्यसको अर्थ नै नबुझेको बताएका छन् ।

 
 
  
 

You may also like