ललितपुर आगलागी : दुई छोरी र श्रीमती गुमाएका सञ्जय गिरी पनि रहेनन्

ललितपुर । ललितपुरको बाफलमा आगलागीमा परी घाइते सञ्जय गिरीको पनि मृत्यु भएको छ । वैशाख २३ गते ललितपुर महानगरपालिका–१७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए ।

घाइते सञ्जय गिरीको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । सञ्जयको भेन्टिलेटरमा उपचार भइरहेको थियो । योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ । सञ्जयकी श्रीमती रूपाको पनि उपचारका क्रममा वैशाख ३१ गते किष्ट अस्पतालमै मृत्यु भएको थियो ।

उनीहरूका दुई जना छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा वैशाख २४ गते मृत्यु भएको थियो । भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते छन् । उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको एसपी सुवेदीले जानकारी दिए । मोबिल खन्याइरहेका बेला लाइटर बालेपछि आगलागी भएको थियो ।

 
 
  
 

You may also like