कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज (मंगलबार) बस्दै छ । अहिले बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने छ भने दलको बैठक ९ बजे बस्ने छ । बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ ।

संसदमा सिर्जना भएको घटनाक्रम र सरकारले आफ्नो मागबारे कुनै चासो नदिएको लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ । सोमबार बसेको पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठकले सरकारले संसदीय छानबिन समिति गठन नगरेसम्म संसदमा अवरोध कायमै राख्ने निर्णय गरेको हो ।

कांग्रेस नेता डा.प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा सरकारले माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताए । सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग कांग्रेसले निरन्तर राख्दै आएको छ । तर, सरकारले आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेपनि विपक्षीको मागबारे कुनै चासो नदिँदा आजको संसदमा कांग्रेसले के गर्ने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ ।

 
 
  
 

You may also like