“दुर्ब्यसन मैत्री समाज,आजको आवस्यकता”

  • सन्तोष भण्डारी 

सर्वप्रथम त! धूम्रपान भनेको “सुर्ती वा सुर्तिजन्य पदर्थलाई धुवाको रुपमा मुखबाट तान्ने र फ्याक्ने कार्यलाई बुझिन्छ।”त्यस्तै मध्यपान भनेको,”नशा दिने पेय पदार्थलाइ बुझिन्छ।” भने “गाजा चरेस हिरोईन अफिम जस्ता पदार्थ जसले मानिसको स्नायु प्रणालीमा नकारात्मक असर गरि मानिसको शारीरिक वा मानसिक स्थितिमा बिचलन पैदा गरिदिने पदार्थलाई लागू पदार्थ भनिन्छ। जसलाइ नशा पनि भन्ने गरिन्छ।”

मानिसहरूको मृत्युको प्रमुख कारण भनेकै धूम्रपान, मद्यपान र लागुपदार्थको अत्यधिक सेवन हो । विभिन्न सञ्चारमाध्यममा हामी सुन्छौं, नेपालमा ज्यान गुमाउने मध्य करिब २० प्रतिशतले धूम्रपान मद्यपान तथा लागू पदार्थको सेवनले ज्यान गुमाउनुपरेको अवस्था छ । विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार विश्वभर करिव ६ मिलियन ब्यक्तिहरु सुर्तीजन्य पदार्थको सेवनको कारणबाट ज्यान गुमाइरहेका छन् । जसमध्ये करिव ६ लाख मनिसहरु अरुले सेवन गरेको सुर्तीजन्य पदार्थको प्रभावले ज्यान गुमाइरहेका छन् । हरेक छ सेकेण्डमा एक ब्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट भइरहेको छ । करिव ८० प्रतिशत प्रयोगकर्ताहरु हाम्रो देश जस्ता कम तथा मध्यम आयस्रोत हुने देशहरुमा छन् । यस अर्थमा हेर्ने हो भने हाम्रो जस्तो मुलुकमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्नको लागि हामी सबै लाग्नुपर्ने देखिन्छ । आधुनिक युगसँगै बढ्दो पश्चिमेली विकृतिसँगै विभिन्न पार्टी, भोजभतेर शुभ उत्सवलगायत कार्यक्रम हुँदा विभिन्न रक्सी, बियरजस्ता मद्यपान राख्ने चलन बढेको देखिन्छ ।

तपाईं–हामी पनि समीक्षा गर्न सक्छौं, फलानोको विवाह छ आज ककटेल पनि छ, रमाइलो हुन्छ । कुनै कार्यालयको उद्घाटन होस् या कुनै वार्षिकी होस्, त्यहाँ यसो ड्रिंक्सको पनि व्यवस्ता छ/छैन लगायत विभिन्न तर्कवितर्क गर्ने गर्छौं । तर, समयअनुसार मानिसहरूले पनि भन्ने गर्छन्,”आज मौसमले च्यालेन्ज गर्यो, जाऊँ यार हल्का पिउन, रमाइलो हुन्छ ।”

के मद्यपान धूम्रपान वा लागू पदार्थले मात्र विभिन्न कार्यक्रमको शोभा बढाउँछ त ? हो, हाम्रो समाजमा ठीक अहिले यसैको बढ्दो प्रयोग भइरहेको अवस्था छ । यसको प्रयोगसँगै विकृति पनि दिनानुदिन बढिरहेको देखिन्छ । चोरी–डकैती, झैझगडा, बलात्कारलगायत जघन्य अपराधले ठूलो रूप लिँदै आउने देखिन्छ । मानिसहरूले विभिन्न कारणले गर्दा मद्यपान सुर्तीजन्य पदार्थ तथा लागू पदार्थको सेवन गर्छन्, कसैको घरायसी कारणले, कसैले खराब साथीहरूको संगतले, कसैले आर्थिक अभावको कारणले पनि विभिन्न बहानामा पिउने तथा सेवन गर्ने गर्छन् ।

तर, यसले पछि ठूलो रूप लिन्छ । लगातार धूम्रपान मद्यपान तथा लागू पदार्थको सेवनले एक किसिमको लत बस्नु त छँदै छ, यसले पछि छोड्न धेरै गार्हो बनाउने हुन्छ । बानी बस्दै जाँदा शरीरमा विभिन्न किसिमका रोग निस्कनुका साथै अत्यधिक सेवनले मानिसको मृत्युसमेत हुने गरेको छ । यस्ता सेवनले देशभित्र धेरै मानिसको मृत्यु भएको सुनिन्छ । “गुड धेरै खाए तीतो हुन्छ” भनेझै यो अत्यधिक सेवन गरे परिणाम मृत्यु हुन्छ । सकभर यस्ता बस्तु खाँदै नखाएको धेरै राम्रो ।
धूम्रपानको सेवनले पछि फोक्सोमा क्यान्सर उत्पन्न हुन्छ, मद्यपानको सेवन गर्दा पछि शरीरको विभिन्न भागमा नकारात्मक असर पुर्याउँछ, सुर्तीजन्य पदार्थको सेवनले मुखमा क्यान्सर हुन्छ भने लागू पदार्थको सेवनले मानसिक स्थितिमा नै बिचलन ल्याइ सोच्ने सम्झने शक्तिको नष्ट गर्दै अन्ततः मानिसहरूको अकालमा मृत्युसमेत हुन्छ । सुर्तीजन्य पदार्थको बट्टामा हानिकारक चित्रको तस्बिरसहित वर्णन गरिएको छ । जुन चिज स्वास्थ्यका लागि हानिकारक छ भनेर प्रस्टसँग लेखिएको छ, त्यसैलाई मानिसले पढ्दै असर गर्ने रहेछ भन्दै सेवन गरेको हामी देख्छौ ।

यो कस्तो अवस्था सिर्जना भएको ? धेरै मानिसको सोचाइ के हुन्छ भने बरु मरिन्छ, तर लागेको बानी छाड्न सकिन्न । तर, छोड्न चाहे मानिसहरूले पक्कै छोड्न सक्छन् । धेरै सेवन गर्ने गरेको छ भने मात्रा मिलाएर सकभर थोरै सेवन गर्नुपर्छ । हो, निकोटिनलाई हटाउन धेरै समय लाग्छ तर बिस्तारै विभिन्न वस्तुतिरको ध्यानमा केन्द्रित गर्न सकिन्छ । तर, यसैको सेवनमा निरन्तर लाग्नु भनेको किमार्थ राम्रो होइन ।
यसको निरन्तर सेवन गर्नाले परिवार बिग्रन्छ, साथीभाइ, इष्टमित्र बिग्रन्छन्, समाजमा नकारात्मक असर गर्छ, भएको इज्जत पनि जान्छ र अन्त्यमा मृत्युुसमेत हुन्छ।

सरकारका तर्फबाट पनि यसको नियन्त्रणका लागि धेरै प्रयासहरु भैरहेकै छन ।त्यस्तै सामाजिक संजाल,पत्रपत्रिका, रेडियो,टेलिभिजन तथा समाजमा रहेका विभिन्न आमा समुह,युवा क्लब,बाल क्लब,प्रहरी प्रशासन तथा सामाजिक संघ सङ्गठनले पनि उल्लेख्य प्रयासहरु गरेका छन तर पनि यो समस्या दिनानुदिन बढ्दो क्रममा छ।यस अर्थमा पनि हेर्ने हो भने धूम्रपान मध्यपान र लागुपदार्थ नियन्त्रणमा परिवार नै एक महत्त्वपूर्ण माध्यम भएको देखिन्छ।

परिवारको_भुमिका :

भनिन्छ,”शिसुको प्रथम पाठशाला घर हो परिवार हो।”त्यसैले धूम्रपान मध्यपान र लागू पदार्थ नियन्त्रणमा पनि परिवारको भुमिका अतुलनीय अर्थात मुख्य हुन्छ।आफ्ना बालबालिकालाई उचित माया दिने, हेरचाह गर्ने, उनिहरुको दैनिक कार्यप्रती निगरानी गर्ने, उनिहरुलाई शिर्जनशिल कार्यमा ब्यस्त राख्ने गर्नुपर्छ।यदि परिवारमा कोहि लतमा लागि सकेको छ भने उसलाइ यस्ता कुराहरु गरि सम्झाउने गर्नुपर्छ,”कुनै पनि लतबाट मुक्त हुनु त्यति सजिलो कुरा पक्कै पनि होइन । सानैदेखि लागेको बानी कहाँ जान्छ र भन्छौं हामी । तर, लत त्याग्ने प्रयत्न गर्दैनौं । यदि कोशिस गर्ने हो भने लत हटाउन सकिन्छ सजिलै । भनिन्छ नी संसारमा असम्भव भन्ने कुरा केही पनि छैन । त्यसका लागि हामीले निरन्तर इमान्दारीतापूर्वक प्रयत्न भने जारी राख्नुपर्छ । त्यसैले सानैदेखि लागेको बानी हटाउन सकिँदैन भन्ने पुरानो मानिसकतालाई सबैभन्दा पहिले हामीले त्याग्न जरुरी छ । आत्मैदेखि र मानसिकरुपमा तयार भएर म यो लत छुटाउँछु भनेर लाग्ने हो भने सहजै छुटाउन सकिन्छ।”भन्दै आत्मबल बढाइ दिनसकिन्छ।

त्यस्तै यस्ता पदार्थमा गरेको दैनिक लगानीको हिसाब किताव गर्नुहोस र उक्त रकम त्यो लत बसेको परिवारको सदस्यलाइ बताउनु होस र उहालाइ यस्तो रकम अन्य कुनै नयाँ काममा लगानी गरेको भए हुने फाइदाको बारेमा बताउनुहोस।घरमा पार्टी भोजभतेर पर्दा रक्सी चुरोटको ठाउमा मिठाई तथा जुसहरुको ब्यबस्था गर्न सकिन्छ।त्यस्तै यस्ता दुव्र्यसनले परिवारमा परेको प्रभाबका बारेमा बताउने जस्ता कार्य गर्दा परिवारका सदस्यबाट उक्त दुव्र्यसनलाइ रोक्न सकिन्छ।

यस्तै गरि ब्यक्तिले दिनमा 5 खिल्ली चुरोट तथा 1 बोत्तल रक्सी खान्छ भने 3 खिल्ली चुरोट तथा आधा बोत्तल रक्सी दिएर क्रमस यो मात्रा घटाउदै जादा परिवारको सदस्यलाइ दुव्र्यसनबाट छुटकारा दिलाउन सकिन्छ।यदि यस्तो गर्दा पनि नियन्त्रण नभएमा यस्ता लत हटाउन बिभिन्न स्वास्थ्य संस्था, क्लिनिकहरु पनि खुलेका छन् ।जसलाइ पुनर्स्थापना केन्द्र पनि भनिन्छ।त्यस्ता केन्द्रहरुमा सम्पर्क गरि सहयोग र सल्लाह लिदै आफ्नो परिवारलाइ यस्ता कुलत मुक्त गराउन परिवारको भुमिका महत्त्वपूर्ण हुन्छ।यसरी प्रत्यक परिवारमा लत मुक्त गराउने हो भने सिङ्गो समाज हुँदै देशबाट नै धूम्रपान मध्यपान र लागुपदार्थलाइ नियन्त्रणमा ल्याउन सकिन्छ। अत:धूम्रपान,मध्यपान तथा लागुपदार्थ नियन्त्रणमा परिवारको भुमिका अतुलनिय छ।

 
 
  
 

You may also like