संसदीय दलको वैठकमा ओलीले भने, ‘नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ’

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) को एमाले संसदीय दलको वैठकमा कडा रुपमा प्रस्तुत भएका छन् ।

एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष आफूहरुको फरक मत पार्टीभित्र राखेर संघर्ष गर्ने निचोडका साथ अध्यक्ष ओलीले बोलाएको संसदीय दलको वैठकमा सहभागी भइरहेका बेला ओली भने पुरानै शैलीमा कडा रुपमा प्रस्तुत भएका छन् ।

संसदीय दलको वैठकमा अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य भएको बताए । बालुवाटारमा भएको संसदीय दलको बैठक उनले भने, ‘उहाँहरु दुई जनाले दिएको स्पष्टीकरण कारबाहीयोग्य छ,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘दुई जनाको आएको छैन, सकारात्मक आउने अपेक्षा छ ।’

पार्टीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोधेको थियो । नेपाल र रावलले बिहीबार स्पष्टीकरण बुझाएका हुन् भने भुसाल र पाण्डेले भने बुझाउने क्रममै रहेको बताएका छन् । नेता र रावलले पार्टीले मागेको स्पष्टीकरणमा जवाफसँगै प्रतिप्रश्नहरु समेत गरिएको छ ।

 
 
  
 

You may also like