नेकपा स्थायी कमिटी बैठक शुरु, ओलीलाई पार्टी साधरण सदस्यबाट पनि हटाइँदै

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बसिरहेको नेता बेदुराम भुसालले जानकारी दिएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने, शुक्रबारको विरोधसभाबारे समीक्षा गर्ने र आन्दोलनका थप कार्यक्रम तय गर्ने विषयमा छलफल हुने भुसालले जानकारी दिएका छन् ।

‘आजको बैठकमा ओलीलाई सोधिएको स्पष्टीकरण, शुक्रबारको विरोधसभाको समीक्षा र आन्दोलनका थप कार्यक्रम मुख्य एजेन्डा रहेका छन्’, नेता भुसालले भने । माघ २ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम माघ ५ गते स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, नेताहरु मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा लगेर स्पष्टीकरण पत्र बुझाएका थिए ।

तीन दिनभित्र स्पष्टीकरण दिन पत्रमा उल्लेख भएको भए पनि एक हप्ता बित्दा समेत स्पष्टीकरण नआएपछि उनलाई साधारण सदस्यबाटै कारबाही गर्न लागिएको नेता भुसालले जानकारी दिएका छन् । त्यस्तै बैठकमा संगठनका विषयमा पनि छलफल हुने उनले बताए ।

 

 
 
  
 

You may also like