देउवाले भने, ‘अदालतले चुनाव गराउने निर्णय गरे कांग्रेसले भाग लिन्छ, अरु पनि आउँछन्’

by समतल अनलाइन

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन संविधान विरोधी कदम भएको बताएका छन् । तर यो मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई यो गर, उ गर भनेर निर्देशन दिन नमिल्ने बताए ।

संसद विघटनको विरोधमा काठमाडौं–५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले मोटो आँखाले हेर्दा ओलीको कदम प्रजातन्त्र र संविधानविरुद्ध भएको बताए । सभापति देउवाले अदालतको निर्णय पर्खिनु पर्ने बताउँदै कांग्रेसले अदालतको निर्णय मान्ने बताए ।

अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए । उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’ तर अदालतले संसद विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताएका छन् ।

धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।’ तर ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने उनले बताए । उनले भने, ‘त्यसबेला उनलाई देशमा बस्न नै गाह्रो हुनेछ ।’

 
 
  
 

You may also like