ओलीको अर्को नाम झुट, अहंकार र घमण्ड हो : अध्यक्ष नेपाल

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको अर्को नाम झुट, अहंकार र घमण्ड भएको बताएका छन् ।

अध्यक्ष नेपालले ओलीले देश विकास र जनहितका लागि काम गर्नुको सट्टा भ्रमण र झुटको खेतीमा तीन वर्ष बिताएको बताए । अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीबाट देश र समाजको रुपान्तरण सपनाको कुरा मात्र भएको बताएका छन् । कम्युनिष्ट नेता जयगोविन्द साहको ३१ औं स्मृति सभालाई सिरहाको वस्तीपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओली भष्मासुर, दुर्योधन र दुशासन प्रवृतिको भएको बताए ।

उनले भष्मासुर प्रवृतिका ओलीलाई छिट्टै आफूहरुले भष्म गरिदिने चेतावनी समेत दिए । ‘ओली दुर्योधन, दुशासन र भष्मासुर प्रवृतिका छन् । त्यसैले उनीबाट देश परिवर्तन, समाज रुपान्तरण र जनहतिको काम सम्भव छैन’, अध्यक्ष नेपालले भने, ‘हामी छिट्टै भष्मासुरलाई नै भष्म गरिदिन्छौं ।’

ओलीले देश र पार्टी दुबै चलाउन नसकेको आरोप नेपालले लगाए । उनले अनुशासनको पालना, मार्यादा, सिद्धान्त, विचारमा चल्ने मान्छेबाट मात्र पार्टीलगायत देश र समाजको विकास तथा हित हुने दावी गरे ।

अध्यक्ष नेपालले ओलीलाई पटक–पटक सुधार गर्न प्रयास गर्दा समेत नसुध्रेको र अन्तमा असंवैधानिक कदम चालेर देशलाई नै दुर्घटनामा धकेलेको बताए । उनले ओलीले बुहमत आफ्नो पक्षमा रहेको रअधिकारिक आफू रहेको दावी गरेर झुटको खेती गरिरहेको आरोप लगाए ।

संसद विघटन गरेपछि ओली आफै कामचलाउ भइसकेको नेपालको दावी छ । अध्यक्ष नेपालले बहुमत आफ्नो पक्षमा रहेको दावी गर्दै ओलीको असंवैधानिक ‘कू’ का विरुद्ध आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री तथा नेकपा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले पार्टीमा सशक्त अनुशासनको अवश्यक्ता रहेको बताए । हरेक दिन प्रधानमन्त्री ओली जथाभावी झुट बोलेर भ्रम फैलाउने गरेकाले केपी प्रवृतिबाट बच्न उनले आग्रह गरे ।

 

 
 
  
 

You may also like