कोभिड १९ परीक्षणमा लगातार फ्रन्टलाइनमा खटिदाँको अनुभव

by समतल अनलाइन

केपि भण्डारी। नेपालमा गत बैशाखमा कोभिड १९, कोरोना भाइरसका कारणले सिन्धुपाल्चोककी सुत्केरी महिला र नेपालगंजका १५ वर्षिय युवकको मृत्युपछि आम मानिसमा निकै डर, त्रास र अन्योलको अवस्था थियो । सरकारले कडा लकडाउनको नीति अख्तियार गरेपनि छिमेकी देशबाट नेपालीहरु अनेक कठिनाइका बाबजुद देशभित्र आउँन्थे ।

नेपालमा जेठको पहिलो हप्ता तेस्रो संक्रमितको निधन भयो । उनी हाम्रै गुल्मी जिल्ला मदाने गाउँपालिकाका शिक्षक थिए । त्यसपछि जिल्लामा पनि थप डरको ग्राफ उकालो लाग्यो । कोरोनाबारे मानिस अनेक अड्कल काट्थे । मानिसमा पर्याप्त कोभिड १९ बारे जानकारी थिएन । तथ्यभन्दा अफवाहले माहोल सन्त्रास थियो । जसले जे सुनेको छ त्यही बताउन्थे ।

जिल्लामा संक्रमणपछि भएको निधनले हामी स्वास्थ्यकर्मीमाथि थप जिम्मेवारी आइलाग्यो । आवश्यक समन्वयपछि कन्ट्राक ट्रेसिङको काम सुरु भयो । तर सबैमा डर । स्वाब संकलन गरी परीक्षण गर्र्नेपर्ने भएकाले गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याको टीमसहित म स्वाब संकलनका लागि मृतकको गाँउतिर लाग्यौं । हामी आत्मविश्वासले भरिएका थियौं । तर मनको कुनामा कतै आफूपनि संक्रमित त भइने होइन भन्ने डर जीवित थियो । घर परिवारबाट लिने पीर, तनावको कुरै नगरौं । अस्पतालका सहकर्मीहरु पनि डराइरहेको स्थिति थियो । अझ भनौं उपचार, परीक्षण लगायतमा काममा देशभरका स्वास्थ्यकर्मीको स्थिति प्रायः एउटै थियो ।

हामीले मदाने गाँउपालिकाको सो ठाउँबाट गरिएको स्वाबको नतिजा केही समयपछि आयो । जसमा पोजेटिभ भएको रिपोर्ट थियो । त्यसपछि जिल्लाभर फेरी सबैमा त्रासको वातावरण सिर्जना भयो । संक्रमित व्यक्तिलाई सो ठाउँबाट राती नै अहिले कोभिड १९ परीक्षण गरिने ल्याब, साविकको आइसोलेशनमा ल्याइयो । त्यतिन्जेल मेरो फोनमा सयौं कलहरु आए । कारण मैले स्वाब संकलन गरेको व्यक्तिको रिपोर्ट पोजेटिभ थियो । यसपछि घरबाट गर्नुभएको पीर, देखाउनुभएको मायाले म आफैलाई पनि केही डर त लाग्यो तर आत्मविश्वास दह्रो बनाएँ । मनोबल उच्च पारें । पेशागत दायित्वलाई सम्झिएँ । घरमा भर्खरै जन्मिएको छोराबाट आइसोलेट भएर म छुट्टै बस्न थाले । श्रीमति मुनाले त्यतिबेला मलाई हरतरहले सहयोग गरिन् । उनी डराउन्थिन् तैपनि मैले कन्भिस गर्थे । त्यसपछि उनी मलाई काममा प्रेरणा भर्थिन् । छोरासँग वारीपारी देखादेख मात्रै हुन्थ्यो । घरबाट बुबा, मम्मी उत्तिकै पीर मान्नुहुन्थो । बरु जागिरै नगर भन्नेसम्मको कुरा गर्नुहुन्थ्यो । म उहाँहरुलाई मेरो पेसा र जिम्मेवारी यस्तै भएकोले पीर नलिनुस् भन्दै सम्झाउन्थें । तैपनि बुबा आमाको सन्तानप्रतिको माया न हो उहाँहरु मनले नमानेपनि मेरो आत्मविश्वासप्रति भने सहमत हुनुहुन्थो । परीवारको मायाले झनै सर्तकताका साथ काम गर्न उर्जा मिल्थ्यो ।

सरकारको गाइडलाइनमा कन्ट्राक ट्रेसिङलाई प्राथमिकतामा राखिएको थियो । त्यसैले सुरुवाति चरणमा म गुल्मीका प्रायः सबै ठाउँमा गई स्वाब संकलन गरें । त्यतिबेला जिल्लामा म मात्रै तालीमप्राप्त भएकाले मैले अन्य पालिका र आफ्नै अस्पतालका कर्मचारीलाई प्रशिक्षित गर्दे पनि आइरहेको थिएँ । सुरुसुरुमा म आफै सबै ठाउँमा पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गयो । नभए अनिदों रहदैं २४ घण्टासम्म पनि काममा खटेको सम्झना ताजा छ । खासमा स्वाब संकलन मात्रै सुनिएपनि त्यसपछिका आफ्नै काम अझै धेरै हुन्छन् । स्वाबको पहिचानका लागि फरक फरक फर्मको उचित व्यवस्थापन गर्नुपर्थ्यो । केही तलमाथी भए यसले झन् खराब परिस्थितिको सिर्जना गर्थ्यो । तसर्थ यसमा हामी निकै सजक बन्नु पर्थ्यो ।

देशभरमा स्वाबको चाप बढी हुन थालेपछि कोभिड परीक्षणको रिपोर्ट निकै ढिलोगरी आउन थाल्यो । त्यसैलाई मध्यनजर गर्दे गुल्मीमा पनि कोभिड परीक्षण प्रयोगशाला संचालन गर्ने प्रक्रिया अगाडी बढ्यो । यसबीच ल्याबको स्थापनामा मैले आफ्नो ठाउँबाट सक्रियतापूर्वक भूमिका खेलें । यो क्रममा भैरहवाका कोभिड ल्याब इन्चार्ज लक्ष्मण पंन्थीको सहयोग अविस्मरणीय थियो । उहाँबाट मैले धेरै कुरा सिकें र फोनमै ल्याबको संरचनाबारे समेत सल्लाह लिएँ । पछि उहाँसँगै सँगै काम गर्ने अवसर जुट्यो जसले मेरो व्यवहारीक ज्ञानलाई थप बलियो बनायो ।

कोभिड १९ ल्याबको संरचना स्थापना गरेर संचालनमा ल्याउन सहज र भनेजस्तो सजिलो छैन । यो निकै महंगो र खर्चिलो भएकाले यसमा अनेक कठिनाइको सामना गर्नुपर्यो । यसमा गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्या, रेसुगां नगरपालिकाको समग्र टीम, उपकरणको व्यवस्थापन/संचालनको तारतम्य मिलाउने बायोमेडिकल टीम, राजनीतिक दल, विभिन्न पालिकाहरु, जनप्रतिनिधिहरु, सार्वजनिक, नीजि क्षेत्र, अस्पतालका सबै सहकर्मी र धेरैको विशेष सहयोग रह्यो ।
हाल म यही ल्याबमा रही नियमित रुपमा कोभिड १९, परीक्षणमा जुटिरहेको छु । यसमा म सँगै मेरा सहकर्मी साथीहरुको कामप्रति लगाव, जिम्मेवारी झनै बढेको छ । हामी परीक्षणमा व्यस्त रहदाँ विहान उज्यालो समेत भएका दिनहरु छन् । परीक्षणको रिपोर्ट के आयो भनेर दिनमा धेरै फोनकलहरु आउँछन् तर काममा व्यस्त हुदाँ त्यसको रेस्पोन्स गर्न भ्याइदैंन त्यसकारण कति जना रिसाउनुपनि भएको होला तर यो बाध्यता बुझिदिनुहुन म आग्रह गर्दछु । हामीले सबैतिर समन्वय गर्दे नतिजालाई जतिसक्दो छिटो दिने प्रयत्न गरिरहेका छौं ।

कोभिड १९ को सुरुवाती चरणदेखिको उच्च सर्तकता अपनाएकै कारण हालसम्म म फ्रन्टलाइनमा खटिदाँ समेत संक्रमित बनेको छैन । यो मेरो लागि खुसीको कुरा हो । तर व्यक्तिगत रुपमा म मात्रै स्वस्थ्य भएर हुदैंन सबै नेपाली यो संक्रमणबाट मुक्त भई स्वस्थ्य हुनुपर्छ ।
यतिबेला हिन्दु नेपालीहरुले चाडपर्व मनाउने क्रम चलिरहेकोले संक्रमणको दर बढ्ने सम्भावना छ । त्यसैले सबै सजग बन्दै आफ्ना क्रियाकलापहरुलाई अगाडी बढाउनुहोला । तपाई सबैमा दीपावलिको मंगलमय शुभकामना ।

-लेखक मेडिकल ल्याब टेक्नोलोजिष्ट भण्डारी गुल्मी अस्पताल अन्तर्गत कोभिड १९ परीक्षण प्रयोगशालामा कार्यरत हुनुहुन्छ ।

 
 
  
 

You may also like