“ब्यक्ति, आत्म मूल्याङ्कन र समाज रुपान्तरण”

by समतल अनलाइन
  • डा. शिव लाल भुसाल

समाजमा हरेक ब्यक्तिको आ-आफ्नो दैनिकी हुन्छ । सबैको बेग्लाबेल्लै किसिमको कार्य हुन्छ र यसै कार्य अनुसार दैनिक रुपमा उसले आफ्नो गोरेटो निर्धारण गरेको हुन्छ । केही पनि कार्य नगर्ने सायद यो संसारमा कोही हुँदैन तर कार्य हरेकले गरेपनि जिवन तथा जगतमा लामो समय सम्झिन लायक निकै कम ब्यक्तित्व मात्र पर्दछन् । तर यसो किन ? छोटो तथा सटिक रुपमा भन्नुपर्दा ठीक समयमा समय अनुकूल कार्य गर्ने ब्यक्ति निकै कम हुने हुनाले यो अवस्था आएको हो ।कुनै ब्यक्तिले थोरै समय मात्र कार्यमा ध्यान दिँदा उल्लेखनिय प्रगति भएको देखिन्छ त कोही सधै जहाँको तही हुन्छन् ।अरु भन्दा तुलनात्मक रुपमा अगाडि बढ्न त अरु भन्दा बेग्लै किसिमको सोच राख्नुपर्छ र सोच अनुसार अगाडि बढ्नु पर्छ ।कार्य सम्पन्न नहुँदा सम्म लगनशील तथा अनुशासित भएर लाग्नुपर्छ । समय जतिसुकै लागोस् कार्य जसरी भएपनि सक्नुपर्छ र कार्य सम्पन्न नहुँदा सम्म हार मान्नु हुदैन् अर्थात कार्यलाई बिचमै छोडेर भाग्नुहुँदैन र विश्रामको शब्द पनि मनमा लिनु हुँदैन ।कार्य गर्दै जाँदा वा जिवनको हरेक पलमा आफ्नो मूल्याङ्कन आफै गर्न सक्नुपर्छ । तपाईको मूल्याङ्कन अरुले गर्ने होइन किनकी तपाईले दैनिक रुपमा गरेका काम त स्वयम तपाईलाई मात्र थाहा हुन्छ र त्यो कामले के असर पार्छ भन्नेपनि तपाईलाई मात्र बोध हुन्छ ।तपाई सामान्य ब्यक्ति भए पनि कामको मूल्याङ्कन गर्दै जाँदा स्वयम एकान्तमा बसेर सोच्नुहोस् आज के काम गरे र यसबाट के असर पुग्दछ ? ब्यक्तिगत रुपमा अरुको मनमा पिडा थुपारेर फाइदा पो लिन लागेको छु कि अरुको मुहारमा पनि खुसी ल्याएको छु ? के भोलि गरिने कार्य पनि मेरो दृष्टिकोणमा उत्तम छन् त ? यी र यस्तै खालका प्रश्न आफैलाई गर्ने र उत्तर खोज्न प्रयत्न गर्ने हो भने सफलता धेरै टाढाको मार्ग हुन सक्दैन ।

स्व-मूल्याङ्कन वा आत्म मूल्याङ्कन हरेकले गर्नुपर्छ । यो अनौठो जगतमा हामी अरुको मूल्याङ्कन गर्दा समय ब्यतित गरेको थाहा पाउँदैनौं । हामी हरेक पलमा आफ्नो मूल्याङ्कन एकातिर थाति राखेर अरुको मूल्याङ्कन गर्न तम्सिन्छौं र दिमागलाई तनाबमा राख्छौं । उसले यस्तो गर्यो भन्दा भन्दै आफूले के गरे र के भने पनि बिर्सन्छ । अबको समाज रुपान्तरण गर्नको लागि स्व-मूल्याङ्कन अतिनै आवश्यक छ । बास्तवमा भन्ने हो भने हामी कोही पनि सुध्रन चाहानौं तर अरु सुध्रिनुपर्छ भन्दै वकालत गर्दै हिडछौं जुन अत्यन्तै प्राणघातक रोग सरह हो । सुध्रिनुपर्ने सबै हो । साच्चै देशको विकासनै गर्ने हो भने, यहा भएका राजनैतिक दल, नेता, कर्मचारी, शिक्षक, पत्रकार, स्थानिय तहका जनप्रतिनिधि आदि सबैले एक पृथक रुपमा सोचको रुपान्तरण गर्नुपर्छ किनकी हिजोको ब्यक्तिवादी चिन्तन तथा अदूरदर्शिताले हाम्रो देश झन पछि झन काचुँली फेर्ला कि भन्दा भन्दै खस्किदै गएको छ ।राज्य ब्यवस्था त कैयौ पटक फेर्यौ तर सोच र चिन्तन फेर्न सकेनौं जुन देश विकासमा क्यान्सर सावित भएको छ ।यसको लागि स्व-मूल्याङ्कन गर्नु नै आवश्यक हुन्छ ।मैले के गर्दा राम्रो होला भन्ने धैरैले सोच्न छोडिसके र त यो अवस्थामा आइपुगेका छौं ।
बास्तवमै भन्ने हो भने यो रुपान्तरणको नेतृत्व सरकारी तबर बाटै गर्नुपर्छ ।सरकार संग प्रत्यक्ष सरोकार राख्ने सबैले अर्थात सरकारी तलब खाने सबैले एक पटक छातीमा हात राखेर सोच्नुहोस् र मनमनै यी प्रश्नको उत्तर दिनुहोस् । के तपाईलाई उपलब्ध गराइएको सेवा सुविधा र जिम्मेवारी अनुसार तपाईले कार्य गर्नु भएको छ ? के तपाईले गरेका काम तथा लिएका निर्णय राष्ट्रकै हितमा छन् त ? कि कसैको दबाबमा वा प्रलोभनमा परेर निर्णय लिनुभएको छ ? के तपाईले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्नुहुन्छ ?

के तपाईले आफ्नो ब्यक्तिगत वा समूहगत फाइदाको लागि अनावश्यक रुपमा आफू मातहतका कर्मचारी वा अन्य ब्यक्तिलाई दबाब दिनुभएको छ ? के तपाईले सही समयमा सही निर्णय दिन सक्नुहुन्छ वा जता मानिसको भिड त्यतै लाग्नु भएको छ ? के तपाईले गरेका काम सुधारउन्मुख छन त ? के तपाई आफू मातहतका प्रतिनिधि वा कर्मचारीलाई समान रुपले हेर्न सक्नुहुन्छ कि कोही तपाईको निकै नजिक तथा कोही निकै टाढा बनेका छन् ? के तपाई अरुलाई अनुशासनको पाठ सिकाइ रहँदा आफू पनि अनुशासित बन्न सक्नुभएको छ ? हो यी र यस्तै प्रश्नको जवाफ कस्तो आउँछ त्यसैमा तपाईले देशको लागि गरेको योगदानलाई झल्काउँछ सकरात्मक पक्ष आएमा तपाईको योगदान अमिट रहेको ब्यक्त गर्दछ।
यसरी स्व-मूल्याङ्कन गर्न सकेमा हरेक बिन्दुमा आफ्नो गल्ती आफै भेटाउन सकिन्छ र यसले मार्ग निर्देशन गर्न सहयोग पुग्दछ ।सबैलाई मार्ग निर्देशन हुनु भनेको समाज रुपान्तरणको जग बसाल्नु हो जुन राष्ट्र विकासको लागि एउटा बलियो आधार हो । यसले हरेकको प्रगतिमा पुगेका बाधा ब्यवधानलाई केलाउन तथा सकरात्मक पक्षलाई आत्मसात गर्दै सुनौलो संसारको परिकल्पना गर्न र खाका तयार गर्न मद्धत पुर्याउँछ ।

बी. ए, समाजशास्त्र त्रि. वि., बि. भि. एस् सी. एण्ड एच. त्रि. वि., एम् भी एस् सी पशु चिकित्साशास्त्र कृषि तथा वन बिज्ञान विश्वविधालय   हालः पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियामा क्वारेन्टाइन अधिकृतको रुपमा कार्यरत ।

 
 
  
 

You may also like