कोरोनाको ‘इपिसेन्टर’ बन्दै भारत : एकै दिन ९५,७३५ जना संक्रमित

by समतल अनलाइन

काठमाडौं । भारतमा कोरोना संक्रमण र मृत्युदरको दिनहुँ नयाँ रेकर्ड बनिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् ।
सोही अवधिमा एक हजार १७२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा हालसम्म ४४ लाख ६५ हजार ८६३ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार ६२ पुगेको छ ।

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचीमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । दैनिक ९५ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।

९५ हजार ७३५ कोरोना संक्रमित एकै दिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकै दिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए । भारत १ अर्ब ३८ करोड जनसंख्या भएको देश हो । एजेन्सी

 
 
  
 

You may also like