- डा. शिव लाल भुसाल
एउटा कागजको टुक्रा, कति साह्रै शक्तिशाली भएको हो ? सारा दुनियाँ यसैको लागि मरिमेटेका छन् ।अँह फुर्सद नै छैन् । सडकमा गुडिरहेका गाडी एकछिन बाटो छेउमा बसेर हेर्ने हो भने यस्तो लाग्छ कि त्यहा दौड प्रतियोगिता भइरहेको छ, सबैलाई आफ्नो गन्तब्यमा पुग्न हतार छ । गन्तब्यमा पुग्न कति दिन लाग्ने हो थाहा छैन तर बेलुका गन्तब्यमा पुगिहाल्यो भने भालि बिहानै उसले त्यो थकित शरिर लिएर त्यही किसिमको यात्रा गर्न सुरु गर्छ ।कसैले दुई गाँस भात खान यो यात्रा गर्दै छन् त कसैलाई जति भएपनि नपुग्ने मन हुँदा यात्रा गर्न बाध्य छन् । एक पैसा भएपनि अरु भन्दा बढी कमाउ, अरुलाई आफ्नो धन देखाउ, आफू सुकिला लुगा लगाउ, आफू मिठो खाउँ भन्दा भन्दै सारा जिन्दगी त्यसैमा बित्छ । न त उसलाई फुर्सद छ, न त साथीभाईको मतलब छ, मतलब छ त मात्र धन कमाउने र सम्पन्न हुने ।तर वास्तवमा उसलाई जति धन भएपनि पुग्दैन् उसले मलाई पुग्यो भनेर सन्तुष्ट भएको देखिदैन् ।
मानिस यसरी धनको लागि पछाडि दौडिरहेको छ कि, न त उसले आफ्नो उमेर गएको थाहा पाउँछ, न त उसले आफ्नो बुवा आमाको उमेर गएर बुढेसकाल लागेको थाहा पाउँछ ।उसले आफ्नो बुवा आमा बुढो हुनुभयो र अब उहाँहरुको ख्याल राख्र्नुपर्छ भन्ने पनि बिर्सन्छ । उसले आफ्नो नातागोता पनि बिर्सन्छ र पहिला आफन्तजनका गएर बिताउने समय क्रमिक रुपमा घटाउँदै जान्छ ।उसले बरु आफन्तजनलाई केही कोसेली दिन्छ समय दिन सकदैन् ।उसले आफ्नो घरपरिवारलाई समेत समय दिन भ्याउँदैन । बालबच्चालाई समय दिनुको साटो पैसा दिएर भुलाउने कोसिस गर्छ र भुलाउँछ तर समय ऊ संग हुदैन।समय नदिँदा घरपरिवार बिग्रने जोखिम पनि उत्तिकै बढेकै हुन्छ । धनकै लागि बिहान एउटा कुरा गर्छ त दिउँसो अर्को कुरा गर्छ त बेलुका झन अर्को कुरा गर्छ ।हरेक बोलीमा स्वार्थ अडिएको कारण प्रत्येक पटक बोली बदल्न बाध्य हुन्छ ।धर्म, इज्जत र नैतिकता निकै परको कुरा हुन लागेको छ । पैसा पाए धर्म परिवर्तन समेत तयार भएको अवस्था देखिन्छ । नैतिकता नै धनले किनिदिन सक्ने सस्कृति बिकास हुँदै जाँदा ईज्जतको अर्थ नि घटदै छ किनकी धन भएकालाई आदर र सम्मान गर्ने परम्परा बिकसित हुँदै गएको छ ।अहिलेको समयमा आएर सम्मान उसले ग्रहण गरेको ज्ञान संग सम्बन्ध राख्दैन राख्छ त उसले आर्जन गरेको धन संग ।त्यसैले त उसले धनकै लागि जे पनि गर्न तयार हुन्छ । पद पाउनलाई धन, पदमा रहिरहनलाई धन, जागिर खानलाई धन, सरुवामा धन, बढुवामा समेत धनको प्रयोग भएको सुनिन्छ तर सत्यता छ छैन त्यो आफ्नो ठाउँमा छ ।
देशको कतिपय राष्ट्रिय राजनैतिक अवस्थामा पनि यसैको ठूलो भूमिका रहन्छ ।चुनाव ताका जसले मिठो खुवाउँछ उसैको पछाडि दौडिरहने एकथरी मानिसको जमात छुट्टै छ ।उसलाई जसले मासु र भात वा मिठो खाना दिन्छ उसैले भने अनुसार मतदान गर्छ ।उसलाई न एजेण्डाको अर्थ थाहा हुन्छ न त ब्यक्तिको स्वभाव थाहा हुन्छ ।भोलिको दिनमा गरिबीको कारण छोरालाई बिदेश पठाउन परेपनि उसले मासुभात खुवाउनेको गुन बिर्सदैन र उसैलाई नै मतदान गर्छ । अहिलेको समयमा सम्बन्ध राम्रो बनाउन धन दिए पुग्छ ।कसैसंग कुरा मिलेन झगडा पर्यो भने उसलाई बोलाएर रात्रीकालीन भोज आयोजना गरे सबै कुरा मिल्छ ।भोजको अन्त्यबाट सबैभन्दा बढी मिल्ने मित्र त्यही हुन्छ ।भएको स्रोत बाढ्ने कुरा निश्चित भएपछि बाझिएका कुरामा समेत हो मा हो भन्न थाल्छ । देश विकास राष्ट्रप्रेम भन्ने शब्द टाढा हुन थाल्छन् ।कतिपयलाई राष्ट्रप्रेमका शब्द तब आउछन् जब उनीहरुको उद्देश्य र स्वार्थ पूरा हुदैनन् ।
जब स्वार्थले जित्न थाल्छ तब समूह, संघ, सस्था, कार्यालय चलाउन दुई चार जना भए मात्र पुग्छ ।यसमा पनि पहुँचवाला ब्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ ।बैठकमा त्यही दुई चार जनाको कुरा नै मुख्य मानिन्छ र निर्णय हुन्छ । अरुको उपस्थिति र दस्तखत त प्रक्रिया पुर्याउनको लागि मात्र हुन्छ ।निर्णय गरिसकेपछि सबैले मान्नुपर्ने हुन्छ ।कतिपय बैठक त बैठक सुरु हुन अगावै अन्तय हुन्छन् । अर्थात निमन्त्रणा गरिएका सदस्यले गएर दस्तखत गरेर मात्र फर्किने काम गरेको सुन्न सकिन्छ ।यसमा कसैको ब्यक्तिगत स्वार्थ भएर नै यो अवस्था आएको हुन सक्छ ।अनि हामीले यस्तै अवस्थाबाट दैनिकी गुजार्दै समृद्द नेपाल सुःखी नेपालीको नारा घन्काउँदै अगाडि बढिरहेका छौँ । खै यसरी कहिले हामी गन्तब्यमा पुग्न सकिएला र ??
बी. ए, समाजशास्त्र त्रि. वि., बि. भि. एस् सी. एण्ड एच. त्रि. वि., एम् भी एस् सी पशु चिकित्साशास्त्र कृषि तथा वन बिज्ञान विश्वविधालय
हालः पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियामा क्वारेन्टाइन अधिकृतको रुपमा कार्यरत ।