एक कोरोना संक्रमितको अनुभव : ‘बाफ लिएँ, कागती र बेसारपानी पिएँ’

by समतल अनलाइन

तनहुँ । तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो ।

त्यस दिनदेखि होम आइसोलेशनमा बसेका पौडल बुधबार निको भएका छन् । पोखरामा गरिएको स्वाब परीक्षणमा उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोनामुक्त भएपछि कुराकानी गर्दै अध्यक्ष पौडेलले आत्मबलले कोरोनालाई परास्त गर्न सकिने प्रतिक्रिया दिए ।

‘कोरोना सङ्क्रमण भएको दिनदेखि म घरमै छुट्टै सुरक्षित रुपमा बसिरहेको थिएँ, घरमा बस्दा खासै समस्या देखिएन’, पौडेलले भने, ‘निरन्तर स्वास्थ्यकर्मीको निगरानीमा थिएँ ।’

पौडेलले कोरोना सङ्क्रमण भए पनि औषधि भने प्रयोग नगरेको जानकारी दिए । ‘बाफ लिएँ, कागती पानी र बेसारपानी पिएँ, नियमित भोजन ग्रहण गरें’, उनले भने, ‘एक दिन सामान्य रुघा लागेको थियो तर खास समस्या भएन ।’

कोभिड–१९ को जोखिम दिनप्रतिदिन बढ्दै गएकाले सजग हुनुपर्ने पौडेलको सुझाव छ । ‘हिंडडुल गर्दा, अरुसँग उठबस गर्दा कोरोना सर्ने भएकाले भौतिक दूरी कायमै गर्नपर्छ’, उनले भने, ‘अहिलेको अवस्थामा बाहिर नहिँडेर घरमै बस्दा सुरक्षित हुन्छ ।’

सोही दिन कोरोना सङ्क्रमित हुनुभएका देवघाट गाउँपालिका–५ का ३० वर्षीय पुरुष पनि कोरोनामुक्त भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिए ।

देवघाटका समुदायका दुई व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिलो चरणमा ३८ र ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये देवघाट–५ का २७ वर्षीय स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण भएको छ ।

घरमा बसेर तीज मनाऔं
कोभिड–१९ को जोखिमका कारण यस वर्ष तीज विगत वर्षको जस्तो नहुने भएको छ । जिल्लाका विभिन्न ठाउँमा समुदायस्तरका व्यक्तिमा कोरोना सङ्क्रमण देखिन थालेपछि सतर्कता अपनाइएको छ । यसैक्रममा देवघाट गाउँपालिकाले आपसमा जुटेर नभई घरघरमै बसेर तीज मनाउन आग्रह गरेको छ ।

आपसमा जुटेर, भेला भएर, टोलछिमेकमा यताउता गरेर नभई आ आफ्नै घरमा स्वास्थ्य सुरक्षा सावधानीसहित तीज मनाउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।

‘जीवन रहे आगामी वर्षहरुमा चाडबाड मनाउन, रमाइलो गर्न, नातागोता भेटघाट गर्न सकिन्छ, जीवन नै नरहे यी सबै सपना मात्र हुनेछ’, थापाले भने, ‘यस्तो संवेदनशील स्थितिमा हामी सबै सजग रहाँै, सचेत रहौँ, सामाजिक दूरी कायम गराैं, भीडभाड नगरौं ।’

कोभिड–१९ को महामारीको जोखिम र सङ्क्रमणको खतरालाई ध्यानमा राखी देवघाट गाउँपालिकाले नयाँ मापदण्डसहितको बन्दाबन्दी आह्वान गरेको र कोभिड–१९ विरुद्ध देवघाटमा जारी अभियानलाई प्रभावकारी बनाउन समुदायस्तरबाट सहयोगको अपेक्षा गरिएको छ ।

 
 
  
 

You may also like