कोभिड – १९ र हामी

by समतल अनलाइन
  • डा.शिव लाल भुसाल

कोभिड १९ कोरोना भाइरस द्वारा लाग्ने महामारी रोग हो । छिमेकी राष्ट्र चीनबाट सुरु भएको यो रोग विश्वको अधिकांश मुलुकमा ब्याप्त छ ।यो रोग लागिसकेपछि देखिने लक्षणहरुमा ज्वरो आउने, सुख्खा खोकी, नाक बन्द हुने, स्वाद थाहा नहुने आदि हुन् । कसैलाई यी लक्षण नदेखिएता पनि कोरोना भाइरस भएको हुन सक्छ ।

विशेष गरेर श्वास प्रश्वासको माध्यमबाट सर्ने यो रोग, दीर्घ रोगी तथा बृद्द उमेर भएकालाई बढी असर गर्छ । छिमेकी राष्ट्र भारतमा संक्रमितको संख्या दिनानुदिन करिब ६० हजारको दरले थपिदैँ छ भने मृत्युदर पनि हजारको हाराहारीमा छ । विश्वमा सम्पन्न भनिएका राष्ट्रलाई समेत यो रोग नियन्त्रण गर्न गार्हो परेको छ । नेपाल एक त विकासको क्रममा निकै पछाडि रहेको र खुला सिमाना भएको कारण जोखिम बढी छ । संक्रमितको संख्या यहा पनि दैनिक पाँच सय देखि हजारको अङ्कमा देखा पर्न थालेको छ ।सरकारले चैत्रबाट सुरु गरेको लकडाउन साउन महिनामा आएर क्रमिक रुपमा अन्त्य गरेको छ । लकडाउनको अन्त्यसंगै संक्रमित बढ्दै छन् । यो संक्रमित दर बढ्नुमा कतै हाम्रो दोष त छैन् रु नेपाल सरकारले सचेतना फैलाउनमा के कमी थियो त रु टेलिभिजन, एफ एम, पत्रपत्रिका आदि सञ्चार माध्यमले नियमित सचेतना संदेश प्रवाह गरेकै थिए तथा नेपाल टेलिकमको हरेक कलमा सचेतना संदेश आएको थियो र अझै आउँदै पनि छ ।यसबीचमा हाम्रो यो रोग नियन्त्रण गर्न के अभ्यास गर्यौँ त रु कतिपय हामीले नै प्रहरीको लागि मास्क नलगाएको पनि होइन। स्वास्थ्य भन्दा पनि जरिवानाबाट जोगिन मास्क लगाउने कैयौँ भेटिए । अशिक्षित भन्दा पनि कतिपय शिक्षित बर्गबाट यो अभ्यास देखिदा निकै दुःख लाग्छ ।

पसल, होटेल वा कार्यालय जाँदा सम्म बाटोमा मास्क लगाउने तर सम्बन्धित निकायमा पुगेपछि मास्क तानेर चिउँडो तल लगेर कुरा गर्नु गल्ती होइन् र रु यसले कोरोना रोकथाम हुन्छ र रु यो कस्तो किसिमको रोकथाम हो रु आखिर बाटोमा हिडँदा मास्क लगाएर के भयो जब कि एक मानिस अर्को मानिससंग बोल्दा मास्क चिउँडो तल तानेर बोल्ने गर्छ रु यो रोगमा त रोगी मानिस स्वस्थ मानिससंग नजिक हुँदा श्वास प्रश्वासको माध्यमबाट सर्ने सम्भावना बढी हुन्छ, र त्यसैबाट बच्नको लागि मास्क लगाउन भनिएको हो ।रोगी मानिसको अर्थ उसमा रोगको लक्षणनै हुनुपर्छ भन्ने होइन अर्थात मानिस स्वस्थ देखिदैमा रोग छैन भनेर यकिन गर्न सकिदैँन । के स्वास्थ्य भन्दा ठूलो सय, दुई सय रुपैया जोगाउने जरिवाना हुन्छ रु जे भएपनि कोरोना भाइरस रोगलाई हामीले नजरअन्दाज गर्योँ जसको कारण यो रोग प्रत्येक गाउँघरमा फैलने सुरमा छ ।पहिला, सक्रमितको संख्या कम हुँदा, हामी यो रोगबाट निकै डरायौँ र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्यौ तर अहिले सक्रमितको दर बढ्दै जाँदा लापरबाही बढेको छ ।रोगको प्रकोप बढ्ने क्रममा रहदै गर्दा हरितालिका तीजको अवसरमा अझैपनि आफ्ना आफन्तजन तथा नजिकका ब्यक्तिलाई घरमै दर खुवाउने तथा नृत्य कार्यक्रम भएका छन् ।

यस्ता कार्यक्रम भएको सामाजिक सन्जालमा देख्न सकिन्छ । नेपाल सरकारले कसैको घरमा पाहुना भएर नजान तथा पाहुना नबोलाउन अनुरोध गरेको छ तर यसप्रति ध्यान दिइएको छैन ।यसले ब्यापक जोखिम बढाएको छ । रोगको जोखिम हुँदाहुदै पनि सामान्य खाजा वा नास्ता खान मोटरसाइकल वा गाडी लिएर प्रहरीको आँखा छल्न मानिस अर्को गाउँको होटलमा पनि गए जसले गर्दा अवस्था जटिल बन्दै गयो ।तर बास्तवमा यो प्रहरी वा स्थानिय प्रशासनलाई छलेको होइन, यो त आफनै स्वास्थ्यमा खतरा निम्ताएको हो, रोगको सक्रमण दर बढाउन सहयोग पुर्याएको हो ।यसले सम्बन्धित ब्यक्ति सहित उसका घरपरिवारलाई समेत जोखिममा पार्यो ।तपाईका यस्ता किसिमका कदमले तपाई आफू त जोखिममा पर्नुभएको छ, यो संगै आफना घरमा हुनुभएका बाल बच्चा तथा बृद्द बुवा आमालाई पनि निकै जोखिममा पार्नु भएको छ ।

फेरि हामी कतिपयको सोच बेग्लै किसिमको भएको कारण पनि रोगको संक्रमण बढेको हो । चिनेजानेको मानिस, साथीभाई तथा सहकर्मीबाट रोग फैलदैन र मास्क लगाउन पनि पर्दैन जस्तो तर्कहीन तथा अबैज्ञानिक सोचले जोखिमलाई बढी प्रश्रय दियो र त आज हामी यो अवस्थामा आइपुगेका छौँ । अहिले स्वास्थ्यकर्मी तथा जनताको सुरक्षामा खटिएका प्रहरीलाई पनि केही संख्यामा संक्रमण भएको समचार सुन्न सकिन्छ ।हाम्रै स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएपछि हाम्रो स्वास्थ्य उपचार कसले गर्ने हो रु एकपटक सोच्नुहोस् त, के यो खतराको संकेत होइन र रु सरकारले अति आवश्यक काममा बाहेक अरु काममा बाहिर ननिस्कनु भनेर सूचना गरिरहँदा मुख्य शहरका सडकमा मानिसको भीड खासै कमी देखिएन ।कति त प्रहरीको आँखा छल्न बनावटी बिरामी भएर पनि हिडे ।लकडाउनको अवधि अर्थात चैत्र देखि साउन महिनासम्म रोग नियन्त्रण गर्न धेरै प्रयास भयो र सक्रंमण दरलाई नियन्त्रणको हदसम्म राख्न सफल पनि देखियो तर सधैभरि लकडाउन समाधानको उपाय पनि होइन, लकडाउन हटाउन पर्यो र नेपाल सरकारले क्रमिक रुपमा हटायो पनि । लकडाउन अवधिमा, हाम्रा नियन्त्रणका केही प्रयास चाहिँ निकै अचम्म लाग्दा भए, रोग नियन्त्रणको नाममा सार्वजनिक बाटो बन्द गर्ने प्रयास केही स्थानिय तहमा हुँदा उक्त अभ्यासलाई हटाउन सरकारले सूचना समेत जारी गर्नुपर्यौ ।

हो, कोभिड १९ ले गर्दा ब्यापार ब्यवसाय चौपट भएको छ, बैंकले कति ब्यवसायीको घर जग्गा नै लिलाम गर्ने अवस्थामा पुगेको छ । यसमा कसैको दुईमत छैन।सरकारले लकडाउनको अन्त्य गरेपनि सक्रमितको संख्यालाई हेरेर कतिपय स्थानिय तहले पुनः लकडाउन सुरु गरेका छन् ।ज्यालादारी मजदुरी गर्नेलाई जिवनयापन गर्न निकै कष्टपूर्ण छ । उनीहरु कोरोना भन्दापनि भोकले मर्ने अवस्थामा आएका छन् । लाखौँको रोजगारी गुमेको छ र रोजगारविहिन अवस्थामा छन् ।यो अहिलेको अवस्थाबाट अगाडि बढ्न प्रत्येक नेपालीले आ आफ्नो क्षेत्रबाट समालोचनात्मक रुपमा अध्ययन गरि ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सफल पाइला चाल्न सरकारलाई मार्गनिर्देशन गर्नुपर्छ ।देशको अर्थतन्त्रलाई मध्यनजर गर्दै सरकारले यो अवस्थाको गहन रुपमा अध्ययन गरि बिशेष रुपमा सम्बोधन गर्नुपर्छ ।

हालः पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियामा क्वारेन्टाइन अधिकृतको रुपमा कार्यरत ।

 

 
 
  
 

You may also like