चीन बन्यो लकडाउन मुक्त देश, बजारमा लाग्न थाल्यो भीड

बेइजिङ। कोरोना भाइरसको उद्गम स्थल चीनमा भाइरस संक्रमण लगभग सकिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना संक्रमणको कारण कसैको पनि मृत्यू भएन ।

चीनमा जनवरीबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । जनवरीदेखि यो साताको मंगलबारसम्म आउँदा कोरोनाको कारण कसैको मृत्यू नभएको यो पहिलो दिन हो चीनको लागि । अहिले कुनैबेला कोरोनाको इपिसेन्टर वुहानमा पनि लकडाउन हटाइएको छ । चीनमा पछिल्लो समयमा वुहानमा मात्र लकडाउन बाँकी थियो ।

लकडाउन हटेपछि चीनिया बजारमा भीड बढ्न थालेको छ । वुहानमा पछिल्लो १४ दिनमा केवल दुईजनामा मात्र संक्रमण भेटिएको छ । वुहानमा जनवरी २३ देखि लकडाउन थियो ।

मंगलबार चीनको स्वास्थ्य सेवा विभागले बताएअनुसार सोमबार कुल ३२ जना नयाँ मानिसमा संक्रमण देखियो । यी संक्रमितहरु सबै बाहिरी देशबाट आएका हुन् । चीनमा जनवरीदेखि कोरोनाको प्रकोप सुरु भएको हो । फेब्रुअरीमा यहाँ प्रकोप उत्कर्षमा पुगेको थियो । मार्चको सुरुवाततिर कोरोना बिस्तारै नियन्त्रणमा आउन थाल्यो । अप्रिलमा यो लगभग सकिँदै गएको छ ।

चीनले पछिल्लो समय संक्रमण भेटिएका मध्ये ९९ प्रतिशत बाहिरी मानिस रहेको बताएको छ । यद्यपि, बाहिरी मुलुकबाट आउनेमा चिनियाँ नागरिकहरु अधिकांश रहेका छन् ।

कोरोना भाइरस संक्रमित तर कुनै लक्षण नदेखिने अवस्थालाई एसिम्टोम्याटिक भनिन्छ । चीनले अहिले यस्तै अवस्थाका मानिसमाथि नजर लगाइरहेको छ । चीनले विदेशबाट आउने सबैको नमूना परीक्षण अनिवार्य गरेको छ । चीनमा अहिलेसम्म ८१,७४० मानिस संक्रमित भएकोमा ३ हजार ३३१ जनाको ज्यान गएको छ ।

 
 
  
 

You may also like