‘अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू, २५ जनाभन्दा बढी भेला नहुनू’

‘हल, क्लब, खेलस्थल, मनोरञ्जन स्थान बन्द’

काठमाडौं ।नेपाल सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन अपिल गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सरकारले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको हो ।

बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय छ । यसको अनुगमन गृह मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना मन्त्रालयले गर्नेछ ।

कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध
बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको छ ।

यसैगरी खाडी क्षेत्र, युरोपका सबै मुलुक, इरान, टर्की, दक्षिण कोरिया, जापान ट्रान्जिट भई आउने सबैलाई पनि वैशाख ३ गतेसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

आवागमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकको भिसा अवधि नियमित गर्न गृह र परराष्ट्र मन्त्रालयले समन्वय गर्ने पनि समितिको बैठकले निर्णय गरेको छ ।

एसईईसहित सबै परीक्षा स्थगित

बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायतका सबै परीक्षा स्थगित गरेको छ । एसईई लगायतका सम्पूर्ण परीक्षा स्थगित गरिएको उपप्रधानमन्त्री पोखरेलले बताए । एसईई परीक्षा चैत ६ गतेदेखि हुने पूर्व निर्धारित तालिका थियो ।

यसैगरी बैठकले स्कुल, कलेज लगायतका शैक्षिक संस्था चैत मसन्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

सिट क्षमता भन्दा बढी यात्रु नबोक्नु
बैठकले सार्वजनिक सवारीसाधनमा सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न–नगराउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ । साथै सर्वसाधारण नागरिकलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गर्दै नेपाल प्रहरीलाई सार्वजनिक यातायातको अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।

सार्वजनिक यातायातका सवारीधनीलाई पनि यातायात चलाउनुअघि प्रत्येक दिन समयसमयमा सवारीसाधनलाई डिसइन्फेक्सन गर्न भनिएको छ ।

 

 

 
 
  
 

You may also like