कोरोनाबाट ज्यान गुमाउने हजार नाघे, ४२ हजार ६३८ संक्रमित

by समतल अनलाइन

२४ घण्टामै १०३ को मृत्यु, डब्ल्यूएचओको टोली चीनमा

काठमाडौं । प्राणघातक कोरोना भाइसरका कारण ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको छ ।

गएको २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये एक हजार १४ जनाले चीनमा र दुई जनाले चीन बाहिर ज्यान गुमाएका हुन् । यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ हजार ६३८ पुगेको चीनको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

भाइरसको संक्रमण शुरु भएको चीनको वुहानमा मात्रै ९७४ जनाको ज्यान गइसकेको छ भने ३१ हजार ७२८ जना संक्रमित छन् । यता विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोली सोमबार चीन पुगेको छ ।

अन्तर्राष्ट्रियस्तरका विज्ञहरुसहितको टोलीले मङ्गलबारदेखि उपचार, रोकथामका उपायहरुको काम थाल्ने सीएनएनले जनाएको छ । त्यस्तै तीन हजार ९९६ जना उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको चीनले दाबी गरेको छ । ज्यान गुमाउनेको संख्या हजार नाघे पनि नयाँ मानिसमा संक्रमण हुने दर भने २० प्रतिशतले घटेको जनाइएको छ ।

हुबेईको स्वास्थ्य आयोगले सोमबार दुई हजार ९७ जनामा कोरोनाको संक्रमण देखिएको छ, आइतबार संक्रमण हुनेको संख्या दुई हजार ६१८ थियो । चीनले सन् २००२–०३ को सार्स भाइरसको महामारीपछि अहिले कोरोना भाइरसका कारण स्वास्थ्य संकट ब्यहोरिरहेको छ ।

 
 
  
 

You may also like