अर्बको लसुन विदेशबाट, चीनबाट आयात रोकिंदा पाँच गुण मूल्यवृद्धि

by समतल अनलाइन

काठमाडौं। चालु आर्थिक वर्षको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौं । यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गर्नेछौं ।

कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य अकासिएको हो । अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ । जबकी २० दिनअघि यसको मूल्य एक सय ३० रुपैयाँ थियो ।

गत आव ०७५–७६ मा ८३ करोड ३० लाख मूल्यको ९ हजार दुई सय ७७ मेट्रिक टन लसुन आयात भएको थियो । हामीले त्यही अवधिमा १५ लाख मूल्य बराबरको १८ मेट्रिक टन निर्यात गरेका थियौं । कृषिजन्य उत्पादनमा मुलुकको परनिर्भरताको पराकाष्ठा लसुनले झल्काउँछ । राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार हरेक वर्ष ठूलो परिमाणमा लसुन चीन, भारत र अन्य मुलुकबाट आयात हुन्छ । सबैभन्दा बढी चीनबाट हुन्छ ।

केन्द्रका प्रमुख डा. कमल गैरेका अनुसार नेपालमा करिब ६० हजार मेट्रिक टन लसुनको माग छ । स्वदेशमा ५० हजार एक सय ७७ हेक्टरमा करिब ५० हजार मेट्रिक टन हाराहारीमा स्वदेशी र चिनियाँ जातको लसुन उत्पादन हुन्छ । ‘अपुग १० हजार मेट्रिक टन लसुन आयात भएको तथ्यांक छ,’ गैरेले भने, ‘कृषिजन्य वस्तुतर्फ ससाना उत्पादनमा ध्यान दिन नसक्दा आयातका नाममा व्यापार घाटा बढेको हो ।’

ठूला होटेल, रेस्टुराँ र सहरी क्षेत्रका अधिकांश उपभोक्ताले चिनियाँ लसुन मन पराउने भएकाले बजारमा बढी माग छ । थोक विक्रेता अर्जुन सिलवालका अनुसार सहरी क्षेत्रका बासिन्दाले चीनबाट आयात हुने ठूलो आकारको लसुन अत्यधिक रुचाएकाले तुलनात्मक रूपमा बजारमा माग बढी छ ।

‘भारतबाट आयात हुने र स्वदेशमा उत्पादित लसुनको आकार सानो हुने र बोक्रा झिक्न केही कठिनाइ भएकाले उपभोक्ताले चिनियाँ लसुन बढी मन पराएका हुन्,’ उनले भने । उनका अनुसार २५ दिनयता चीनबाट लसुन आयात भएको छैन । आयात नहुँदा बजारमा चिनियाँ लसुनको माग बढ्दै गएको हो ।

कालिमाटी तरकारी बजारमा वार्षिक रूपमा चीनबाट आयात हुने लसुन एक सय ५४ मेट्रिक टन कारोबार हुन्छ । भारतबाट आयात भएको लसुन साढे ४० टनको कारोबार हुन्छ । कालिमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठका अनुसार त्यतिले नपुगेर नेपालमै उत्पादित चिनियाँ जातको करिब १४ टन र स्वदेशी जातको करिब एक सय १८ टन लसुन खपत हुन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो चार महिनामा लसुन आयात दर चुलिँदै गएको छ । स्वदेशमा लसुन उत्पादन वृद्धि नहुँदा बर्षेनी लसुन आयात दर बढ्दै गएको हो । ०७२–७३ मा ७० करोड ६० लाख ६६ हजार मूल्यको नौ हजार चार सय ३० मेट्रिक टन लसुन आयात भएको थियो ।

लगत्तै ०७३–७४ मा परिमाणमा कम देखिए पनि मूल्यका हिसाबले झन्डै पाँच करोड २७ लाख बढीले लसुन आयात बढेको थियो । त्यो वर्ष ७५ करोड ८७ लाख मूल्यको ६ हजार दुई सय ८५ टन आयात भएको थियो । ०७४–७५ मा ८० करोड ८२ लाख ६० हजार मूल्यको आठ हजार ६ सय ४४ टन र ०७५–७६ मा ८३ करोड ३० लाख ३३ हजार मूल्यको नौ हजार दुई सय ७७ टन लसुन आयात भएको थियो । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like