स्थानीय संस्कृति संरक्षणमा स्थानीय सरकारले चासो दिनुपर्नेमा जोड

by समतल अनलाइन

पाल्पा ३०, श्रावण । स्थानीय जात्रा पर्वको संरक्षणमा स्थानीय सरकारले चासो दिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । स्थानीय सरकारको दायित्व संस्कृति र जात्रा पर्वको महत्वलाई उजागर गर्दै सभ्यता र पहिचान रक्षा गर्नु पनि रहेको कार्यक्रमका सहभागीको भनाई थियो । बगनासकाली साहित्य परिषद् पाल्पाले शुक्रबार तानसेनमा आयोजना गरेको पाल्पाका जात्रा, चाडपर्व संरक्षणको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले भाषा, कला, साहित्य र संस्कृतिको विकास विना सभ्यता र पहिचान हराउने भएकोले संस्कृति संरक्षणमा सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले आर्थिक अभावका कारण परम्परादेखि चल्दै आएको जात्राहरू लोप हुँदै गएकोले स्थानीय सवै स्थानीय तहले श्रोतको व्यवस्था गरी लोप भएका जात्रा पर्वहरूको संरक्षण गर्नुपर्ने बताए । उनले संस्कृति संरक्षणको लािग सरोकारवाला निकायले वर्षभरी मनाइने जात्रा चाडपर्वहरूको लगत राख्ने, नयाँ पुस्तालाई संस्कृति संरक्षणमा प्रेरित गर्ने, संस्कृति सम्बन्धी पुराना, नयाँ विषयवस्तुलाई संग्रहालयमा सुरक्षित गर्ने र स्थानीय तहमा हुने मेला महोत्सवलाई प्रसस्त मात्रामा प्रचार गर्न सकेमा मात्र लोपोन्मुख जात्रा पर्वहरूको संरक्षण हुने जनाए ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति कृष्णप्रसाद बस्यालले बगनासकाली गाउँपालिकाको विकास हुनु नै समग्र पाल्पाको विकास हुनु हो भन्ने उदाहरण दिदै जिल्लाका सवै गाउँपालिकाहरूमा संस्कृति र जात्रापर्वको संरक्षणमा बगनासकालीले समन्वय गर्न तयार रहेको बताए । उनले स्थानीय तहले बजेटलाई बाटो र माटोमा मात्र नसकी आफ्नो पहिचान र सभ्यता झल्किने सम्पदा र संस्कृति रक्षामा समेत खर्चिन सकेमा समग्र पाल्पाको जात्रा पर्वहरूको संरक्षण हुने औंल्याए । बस्यालले बगनासकाली साहित्य परिषद्ले गाउँपालिकासँग नजिक रहेर समग्र पाल्पाको संस्कृति संरक्षणमा चासो दिएकोले गाउँपालिकाले बगनासकालीको मात्र नभएर समग्र पाल्पाको संस्कृति संरक्षणमा सरोकारवालाहरूसँग हातेमालो गरेर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै बुद्धिजीवी एवम् संस्कृतिविद् निर्मल श्रेष्ठले हाम्रा जात्रा, पर्व र संस्कृति जीवनसँग साटिने भएकोले संस्कृति संरक्षणको क्षेत्रमा लाग्नेहरूले यथार्थताको धरातलमा रहेर पहिचन भुल्न नहुने बताए । उनले संस्कृति र संस्कार विज्ञानसँग रहेकोले संस्कृतिलाई पहिचा र सभ्यताको रूपमा बुझ्न आग्रह गरे । श्रेष्ठले धर्म संस्कृतिले अनुशासन र सभ्यता सिकाउने भएकोले जात्रा चाड पर्वलाई समाज परिवर्तनको रूपमा विकास गर्दै लैजानुपर्ने बताए ।

परिषद्का सल्लाहकार राजेन्द्रगोपाल सिंहले पाल्पा धर्म संस्कृतिमा धनी रहेकोले धार्मिक सहिष्णुताको विकास गर्दै जिल्लालाई धार्मिक तथा सांस्कृतिक क्षेत्रमा समृद्ध बनाउनुपर्ने बताए । उनले संस्कृति संरक्षणमा अभियान्तहरूबाट सुधारको प्रतिवद्धता हुनुपर्ने जनाए । सिंहले धर्म संस्कृतिलाई विरोधाभास र अराजक बनाउन नहुनेमा जोड दिए ।

पाल्पा साहित्य समाजका अध्यक्ष एवम् परिषद्का सल्लाहकार पुष्करराज रेग्मीले राज्यको आर्थिक व्यवस्थान र राज्यको चासो भएमा लोपोन्मुख जात्रा पर्वहरूको स्वतः जगेर्ना हुने जनाए । उनले राज्यले धर्म संस्कृति संरक्षणको नाममा अनुत्पादक क्षेत्रमा लगानी गर्ने र समावेसीकरणमा ध्यान नदिने कारण परम्परादेखि चल्दै आएका जात्रा पर्वहरू खुम्चीदै गएको जनाए ।

रणउजिरेश्वरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जात्रा पर्व सञ्चालको अवस्थाबारे स्थानीय सरकारले चासो लिनुपर्नेमा जोड दिए । उनले संस्कृति संरक्षणमा स्थानीय सरकार र अभियन्ताहरूवीचमा सहकार्य हुन सकेमा जात्रा पर्वहरूलाई थप व्यवस्थित बनाउन सकिने जनाए ।

शिक्षाविद् एवम् बुद्धिजीवि मीनबहादुर केसीले चाडपर्वहरूले समाजको पहिचान मात्र नसमेटी विकृती र विसंगतीलाई उजागर गर्ने भएकोले सरोकारवालाहरूले ध्यान दिनुपर्ने जनाए । उनले धर्म, संस्कृति, रीतिरिवाजको संरक्षणबाट देशले समृद्धि हासिल गर्न सक्ने भएकोले स्थानीय तहले चासो दिनुपर्ने बताए ।

प्राध्यापक एवम् साहित्यकार डा. शंकर गैरेले संस्कार र संस्कृति संरक्षणमा चासो दिइनु आफैमा प्रसंसनीय काम भएकोले सवै सरोकारवालाहरूलाई समेटेर व्यापीकरण गर्नुपर्नेमा जोड दिए । भुमण्डीकरणको कारणले विश्वमा नै संस्कार र संस्कृति परिवर्तन हुँदै जाने भएकोले समय अनुसार जात्रा पर्वहरू पनि परिवर्तन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा परिषद्का सल्लाहकार एवम् गाउँले देउराली साप्ताहिकका सम्पादक धातानन्द शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र लिगल, प्रगतीशिल लेखक संघ पाल्पाका अध्यक्ष रामप्रसाद अर्याल लगायतले धर्मसंस्कृति र जात्रापर्व राष्ट्रियतासँग जोडिने विषय भएकोले सरोकारवालामा धार्मिक र सांस्कृतिक सहिष्णुता हुनुपर्नेमा जोड दिएका थिए ।

परिषद्का अध्यक्ष भोजराज भट्टराईको अध्यक्षततामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गोमविक्रम क्षेत्री र उद्घोषण सचिव ज्ञानु न्यौपानेको रहेको थियो ।

 
 
  
 

You may also like