कोरोना : जापान-अमेरिकाले नागरिक लगे, जहाज पठाउने भारतको तयारी, नेपाल अझै ढुक्क

by समतल अनलाइन

काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर चीनको हुबेई प्रान्तको वुहानबाट अमेरिकाले दुई सय एक र जापानले दुई सय ६ नागरिक फिर्ता लगिसकेका छन् ।

भारत, श्रीलंका, पाकिस्तानलगायत १५ भन्दा बढी देशले पनि विशेष विमान पठाउन चीनको अनुमति पर्खेका छन् । तर, महामारीको चपेटामा परेका आफ्ना नागरिक फिर्ता गर्न नेपालले कुनै चासो देखाएको छैन ।

प्रधानमन्त्री केपी ओलीको प्रयासमा यसै साता बसेको सम्बन्धित मन्त्रीहरूको बैठकले चीनबाट नेपालीलाई एयरलिफ्टमार्फत उद्धार गर्न पनि तयार हुनुपर्ने छलफल भएको थियो । तर, उनीहरूलाई ल्याउन कुनै कूटनीतिक र व्यवस्थापकीय प्रयास भएको छैन । बरु सरकार ढुक्कसाथ भनिरहेको छ, ‘कुनै खतरा छैन, धैर्य रहनू र चिनियाँ सरकारको सूचना पढेर बस्नू ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले वुहानलगायत अन्य ठाउँमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था नरहेको बताए । ‘अध्ययन वा कामका सिलसिलामा चीन गएका नेपालीमा अहिलेसम्म संक्रमण देखिएको छैन । उनीहरू सुरक्षित छन्, अहिले बोलाउनु पर्दैन । सरकारले गर्नुपर्ने तयारी गरिरहेकै छ,’ श्रेष्ठले भने ।

वुहानमा रहेका विद्यार्थीले भने आफूहरू खतरामा रहेकाले घर लगिदिन याचना गरिरहेका छन् । ‘कोरोना भाइरसले त्रसित बनाएको छ । यहाँ सबै शैक्षिक संस्था, बजार, यातायात पूर्ण बन्द छन् । हामी बाहिर निस्केका छैनौँ । कलेजले हामीलाई आ–आफ्नो दूतावासमा सम्पर्क गरेर घर जान सक्छौ भनेको छ,’ वुहानको थोङ्ची मेडिकल कलेजमा सर्जरीमा पिएचडी गरिरहेका डा. गौरव पोखरेलले भने, ‘हामीलाई सरकारले उद्धार गरोस् ।’

हुबेईमै रहेका अर्का विद्यार्थी डा. अमित शर्माले आफूसँगै पढ्ने भारतीय साथीहरूको उद्धार हुँदै गर्दा सरकारले आफूहरूको जीवनप्रति चासो नदिएकोमा दुःख जनाए । ‘हामी नेपाल गएर जति दिन पनि निगरानीमा छुट्टै ठाउँमा बस्न तयार छौँ । नेपाल गएर अरूलाई फैलाउन चाहँदैनौं । हाम्रो स्वास्थ्य जाँच गरेर लैजाओस्,’ शर्माले भने, ‘हामीसँगै बसेका भारतीय साथीहरूलाई लिन शुक्रबार गाडी आउँदै छ । हामी उनीहरू फर्किएको हेरेर बस्न बाध्य छौँ ।’

वुहानमा विद्यार्थी जति त्रासमा छन्, नेपालमा अभिभावक झन् बढी तनावमा छन् । ‘चीनमा हाम्रा सन्तान त्रासमा छन्, हामी यता तनावमा छौँ । त्यहाँ सबै क्षेत्र बन्द भएकाले उनीहरूलाई खानाकै पनि समस्या छ । सरकारले तत्काल उद्धार गरिदेओस्,’ अभिभावक डा. आनन्द श्रेष्ठले भने ।

बेइजिङस्थित दूतावासले वुहानमा नेपालीलाई बाहिन ननिस्किन र समस्यामा परे दूतावासले उपलब्ध गराएको हटलाइनमा सम्पर्क गर्न भनेको छ । त्रासका कारण नेपालीले पसलमा पनि जान नसकेको विवरण दूतावासलाई टिपाइरहेका छन् । धेरैले दूतावासमा फोन गरेर घर फर्काइदिन गुहार गरिरहेका छन् । दूतावासले सूचना पठाएको पनि छ, तर सरकार मौन छ ।

‘एक सय ८० नेपाली दूतावासको सम्पर्कमा आएका छन्, उनीहरूले स्वदेश फिर्ताको प्रबन्ध गरिदिन आग्रह गरेका छन्,’ बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले बिहीबार भने, ‘यस सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई जानकारी दिइरहेका छौँ ।’

तर, मध्यपूर्वी देशहरूबाट नेपालीलाई उद्धार गरेजस्तो वुहानबाट उद्धार सम्भव नरहेको लम्सालले बताए । जहाजमै संक्रमण फैलिएर भयावह हुन सक्ने जटिलता रहेको उनको भनाइ छ । ‘उहाँहरूलाई लिनका लागि जहाज पठाउने एउटा सामान्य काम मात्रै हो ।

जहाज उडाउनुअघि र जहाजबाट गन्तव्यमा नागरिकलाई पुर्‍याइसकेपछिको व्यवस्थापन जटिल हुन्छ । चिकित्सकहरूले त जहाजमै संक्रमण फैलिने र झन् भयाभह रूप लिने अवस्था आउन सक्छ भनेका छन्,’ लम्सालले भने, ‘सरकारले दायित्व निर्वाह नगर्ने भन्ने प्रश्नै भएन । व्यवस्थापनको तयारीका लागि हामीलाई समय लाग्छ ।’

चीनले संक्रमण नदोहोरियोस् भन्न वुहानबाट विदेशी नागरिक लैजान विस्तृत र कठोर पूर्वर्सत राखेको नेपाली अधिकारीहरूको बुझाइ छ । उपनियोग प्रमुख लम्सालले भने, ‘विद्यार्थीहरू फेरि पढ्न जाँदा संक्रमण नहोस् भन्ने कुराको ग्यारेन्टी चीनले खोजेको देखिन्छ । चीनका विस्तृत सर्तहरू पालना गर्न अप्ठेरो अवस्था छ । परिपक्व व्यवस्थापन नभएमा फेरि संक्रमण बढ्ने र अहिले भएका सम्पूर्ण प्रयास असफल हुने हुनाले चिनियाँहरू बढी नै संवेदनशील भएका हुन सक्छन् ।’

नेपाली दूतावासले ९ माघमा जारी गरेको सूचनामा साबुन पानीले हात धुन, माक्स लगाएर हिँड्न, काँचो मासुको वरपर नजान, माक्स लगाएर हिँड्न, संक्रमणमा रहेकाहरूसँग संगत नगर्न आग्रह गरेको छ । चीनको स्वास्थ्य मन्त्रालयका सूचना नियमित हेर्न पनि भनेको छ । त्यस्तै सम्पर्कका लागि हटलाइनको व्यवस्था गरेको छ । बेइजिङस्थित दूतावास, हङकङ, ल्हासा, ग्वान्जाओस्थित महावाणिज्य दूतावास र सांघाईस्थित अवैतनिक महावाणिज्य दूतावासमा हटलाइन स्थापित गरेको छ ।

चीनमा विद्यार्थी र पेसा व्यवसाय गर्ने आठ हजार नेपाली छन् । यसमध्ये सात हजार विद्यार्थी रहेको दूतावासले जनाएको छ । वुहानमा मात्रै ६२ नेपाली छन् । यीमध्ये ५० विद्यार्थी छन् भने १२ जना होटेलमा काम गर्छन् । हुबेईकै अन्य तीन सहरमा एक सय २० नेपाली छन् । तर, चीनमा नयाँ वर्षको लामो बिदा परेका कारण त्यहाँका अधिकांश नेपाली पहिल्यै घर फर्किएका छन् । कोरोना संक्रमणपछि पनि लक नभएका सहरबाट नेपालीहरू धमाधम फर्किरहेका छन् ।

कुन–कुन देशले नागरिक लगे ?

जापानले आफ्ना दुई सय ६ नागरिकलाई बुधबार चीनबाट स्वदेश लगेको छ । अस्पताल भर्ना भएका १२ मध्ये दुईजनालाई निमोनिया भएको जापान टाइम्सले जनाएको छ । उनीहरू सबैलाई १४ दिन निगरानीमा राखिएको छ । वुहानबाट थप चार सय ४० जना नागरिक स्वदेश फिर्ताका लागि प्रतिक्षारत छन् ।

अमेरिकाले वुहानबाट आफ्ना दुई सय एक नागरिक फिर्ता लगेको छ । उनीहरूलाई क्यालिफोर्नियाको सैन्य बेसको अस्पतालमा तीन दिन निगरानीका लागि राखिएको छ । तर, अमेरिकी नागरिक कोही पनि संक्रमित भेटिएका छैनन् । वुहानमा थप नागरिकको उद्दारका लागि जहाज पठाउनेबारे चिनियाँ अधिकारीसँग छलफल भइरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

वुहानमा दुई सय ५० भन्दा बढी भारतीय नागरिक छन् । यीमध्ये अधिकांश विद्यार्थी छन् । उनीहरूलाई स्वदेश फर्काउन जहाज पठाउनका लागि चीनसँग अनुमति मागिएको भारतीय विदेश मन्त्रालयका प्रबक्ता रविस कुमारले बताएका छन् । भारतले आफ्ना २१ विमानस्थलमा चीनबाट फर्कने यात्रुहरूलाई चेकजाँच गरिरहेको छ भने नेपालसँग जोडिएका ६ प्रान्तका चेकपोष्टमा पनि निगरानी बढाएको छ ।

सात सय दक्षिण कोरियालली नागरिकलाई लिन बिहीबार जान तयार जहाज चीनले रोकेको छ । बिहीवार र शुक्रवार कोरियाली चार्टर्ड जहाज वुहान जाँदै थिए । विना सूचना चीनले जहाज रोकेको कोरियाली गुनासो उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

थाइल्याण्डले ४९ विद्यार्थी र १५ श्रमिक गरी ६४ जनालाई बुहानबाट स्वदेश फर्काउन बैंककमा जहाज तयार अवस्थामा राखेको छ । साउथ चाइना मर्निङ पोष्टको विहीवारको समाचारअनुसार थाइ जहाज चीन सरकारको अनुमतिको पखाईमा छ ।

न्युजिल्याण्डका ३०० नागरिक पनि उद्दारको पर्खाइमा छन् । न्युजिल्याण्डले प्रशान्त क्षेत्रका टापु मुलुक तथा अस्ट्रेलियन नागरिकलाई पनि प्राथमिकता साथ लैजान चाहेको छ । फिर्ता गरिएपछि दुई सातासम्म निगरानीमा राख्ने, स्वास्थ्य परिक्षण गर्नेलगायतको तारतम्य सरकारले मिलाइरहेको छ ।

अस्ट्रेलियाले चीनमा रहेका ६ सय नागरिकलाई फिर्ता गर्न चाहेको छ । चीनबाट फर्किएपछि नागरिकलाई क्रिसमस आइल्याण्डमा स्वास्थ्य परीक्षणका लागि क्वारेन्टाइन राख्न लागिएको सरकारले जनाएको छ । विगतमा शरणार्थीको लागि आवेदन दिनेहरूलाई राख्ने ठाउँमा क्वारेन्टाइन राख्न लागिएको छ ।

मलेसियाका ७८ नागरिक वुहानमा छन् । उनीहरूलाई लिन चाँडै नै जहाज पठाउने सरकारी तयारी छ । प्रधानमन्त्री महाथीर मोहम्मदले बुधवार भने ‘सरकारले वुहानमा जहाज पठाउने तयारी गरिरहेको छ ।’

पाकिस्तानका करिब पाँच सय विद्यार्थी वुहानमा छन् । उनीहरूमध्ये ४ जनालाई कोरोना भाइरस देखा परेको छ । पाकिस्तानले पनि जहाज पठाउन लागेको छ, जहाज चिनियाँ अनुमतिको पर्खाइमा छ । म्यानमारका ६३ विद्यार्थी वुहानमा छन् । उनीहरूलाई स्वदेश लैजान जहाजको स्वीकृतिको प्रतिक्षा भइरहेको छ ।

श्रीलंकाका ३२ विद्यार्थी र उनका अभिभावक वुहानमा छन् । उनीहरू स्वदेश फिर्ताका लागि पखाईमा छन् । चीनबाट उडान अनुमति नहुँदा जहाज जान नसकेको विदेश मन्त्रालयले जनाएको छ ।

वुहानमा करिब दुई सय जना ब्रिटिश नागरिक छन् । उनीहरूलाई वुहानबाट फिर्ता लगिएपछि दुई साता क्वारेन्टाइनमा राख्ने बन्दोबस्त मिलाइएको छ । विहीवार जहाज पठाउने तयारी भए पनि अन्तिम समयमा चिनियाँ अधिकारीबाट अनुमति नमिलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फ्रान्सका दुई सय नागरिक पनि उद्दारको पखाईमा छन् । जर्मनी, स्पेन, डेनमार्क, पोल्याण्डसहितका युरोपेली देशले पनि फ्रेन्च उडानबाट नागरिक फिर्ता लैजान खोजेका छन् । केक्सिको र मोरिससले पनि आग्रह गरेका छन् । फिलिपिन्सका एक सय ५० जना वुहानमा स्वदेश फर्कने पखाईमा छन् ।

चीनमा एक सय ७० को मृत्यु, १९ देशमा संक्रमण

चिनियाँ सञ्चारमाध्यमका अनुसार कोरोना भाइरसबाट चीनमा अहिलेसम्म एक सय ७० जनाको ज्यान गएको छ । ७ हजार ८ सय ३० मा संक्रमण पुष्टि भएको, एक सय ३९ जना उपचारपछि निको भएर घर फर्केको पिपुल्स डेलीले जनाएको छ ।

चीनबाहेक १९ देशमा कोरोना भाइरस फैलिसकेको छ । अमेरिका, जापान, बेलायत, थाइल्याण्ड, दक्षिण कोरिया, भीयतनाम, फिलिपिन्स, फिनल्याण्ड, सिंगापुर, मलेशिया, फ्रान्स, अस्ट्रेलिया, जर्मनी, नेपाल, क्यानाडा, कम्बोडिया, श्रीलंका, भारत र ताइवानमा संक्रमण पुगेको छ । चीनका हङकङ र मकाओमा पनि संक्रमण भेटिएको छ । चीनले एक सातादेखि हुबेई प्रान्तको सम्पूर्ण यातायात बन्द गरेको छ । अन्तरप्रान्तीयातायात पनि बन्द छ । हुबे प्रान्तमा १ करोड १० लाख जनसंख्या छ । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like