कोरोना भाइरसको जोखिम, परीक्षणका लागि विदेश जानु नपर्ने

by समतल अनलाइन

काठमाडौं । मानव स्वास्थ्यलाई असर गर्ने नयाँ प्रकृतिको मानिएको कोरोनाभाइरस परीक्षणका लागि विदेश जान नपर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपालमै यो भाइरसबाट शंकास्पद मानिएका विरामीहरुको नमुना परीक्षण गर्न सकिने प्रबिधी तयारी अवस्थामा राखिएको छ ।

यस्तै प्रविधीका लागि आवश्यक पर्ने केमिकलहरु विश्व स्वास्थ्य संगठनको समन्वयमा भित्र्याउन लागिएको थियो । कोरोना भाइरस परिक्षणका लागि आबश्यक केमिकलहरु एक हप्ताभित्र नेपाल आइपुग्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । शंकास्पद विरामीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै परिक्षण गर्न सकिन्छ ।

भाइरसहरुको परिक्षण पोलीमराइजेसन चेन रियाक्सन प्रविधी (पि.सी.आर) बाट गरिन्छ । तर, भाइरस अनुसार फरक फरक केमिकलको आवश्यकता पर्छ । भाइरस परिक्षणका लागि आवश्यक जनशक्तीहरु प्रयोगशालाले तयारी अवस्थामा राखेको छ । परिक्षण गर्दा कोरोना भाइरसको इन्फेक्सन देखिए टेष्ट गर्दा पोजेटीभ देखिने चिकीत्सकहरु बताउँछन् ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले प्रविधीका लागि आवश्यक पर्ने सवै केमिकलहरु मगाइएको बताए । उनले भने, ‘अब नेपालमै कोरोनाभाइरस परीक्षण हुन्छ । परिक्षण शुल्क कति लिने भन्ने केहि दिनमै निर्धारण हुन्छ ।’

चीनमा फैलिरहेको नयाँ खालको कोरोना भइरसको जोखिममा नेपाल पनि परेको छ । यद्यपी नेपालमा चीन, हङकङ, जापान र थाइल्यान्ड लगायतका देशबाट धेरै मानिसको आवतजावत हुने भएका कारण जुनसुकै बेलामा पनि यो भाइरस नेपालमा देखिने जोखिम रहेको बताइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोरोनाभाइरसका लक्षणहरु ज्वरो आउने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकि लाग्ने लगायत रहेका छन् । उनले भने, ‘कोरोना भाइरसले रुघाखोकी गराउँछ । श्वासप्रश्वास प्रणालीमा असर गर्छ । ’

स्वास्थ्य सेवा विभाग अन्तर्गत् इपिडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोरोनाभाइरसको संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएको छ । त्रीभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रृय बनाइएको छ ।

हाल भेटिएका भाइरस सन् २००२–२००३ मा चीन र हंङकङमा फैलिएको सार्स प्रकोपको भाइरस एक प्रजाति हो ।

कोरोना भाइरस थुप्रै प्रकारका हुने भए पनि मानिसमा भने यसअघि यसका ६ प्रकारको संक्रमण पाइएको छ । नयाँ देखिएको भाइरसलाई मानवमा संक्रमणका हिसाबले कोरोनाको सातौँ प्रकारका रूपमा हेरिएको छ ।

जेनेटिक कोडको विश्लेषणबाट यो ‘सार्स’ भाइरसको तुलनामा मान्छेमा चाँडो संक्रमण गर्ने खालको रहेको पाइएको छ । चिकीत्सकका अनुसार ‘सार्स’ नामको कोरोना भाइरस निकै खÞतरनाक मानिन्छ । सार्सका कारण चीनमा २००२ मा ८ हजार ९८ जनामा संक्रमण देखिएको थियो भने ७ सय ७४ जनाको यही भाइरसका कारण ज्यान गएको थियो ।

चीनको नेसनल हेल्थ कमिसनले केही समयअघि भाइरसलाई नियन्त्रण गर्न सकिने दाबी गरेका थिए । तर, हालसम्म संक्रमण भने बढिरहेको छ । यद्यपि, महामारीको रूप भने लिइसकेको अवस्था छैन ।

सार्सजत्तिनै खतरनाक नभए पनि भाइरसले कुनै समय आफ्नो जिनमा परिवर्तन गर्न सक्ने भएकाले विज्ञ चिन्तित छन् । सार्स भाइरसको संक्रमणबाट ७५० मारिएका थिए ।

 
 
  
 

You may also like