हिउँदे वर्षा लम्बिने सम्भावना

by समतल अनलाइन

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदे वर्षा लम्बिने जनाएको छ । छिटो हिउँदे वर्षा सुरु भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हो । नेपालमा अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ । हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआए पनि चिसो भने लामै समय रहने अनुमान महाशाखाले गरेको छ । अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहने महाशाखाका मौसमविद् बरुण पौडेलले बताए ।

पौडेलले भने, “दुई–तीन दिन कायम रहेर छिटो वर्षा सकिने तर फेरि अर्को वर्षा भइहाल्ने खालको वर्षा चक्र चलिरहेको छ । औसतमा गएको वर्षभन्दा यसपटकको वर्षाको दर पनि बढेको छ ।” वर्षासँगै हिमपात पनि गएको वर्षभन्दा बढी भएको महाशाखाले विश्लेषण गरेको छ । तेस्रो पटकको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हो । जसका कारण मङ्गलबारदेखि नै देशभर बदलीको अवस्था कायम रह्यो । बुधबार बिहानैदेखि देशका विभिन्न भूभागमा वर्षा सुरु भएको मौसमविद् पौडेलले जानकारी दिए । बुधबार र बिहीबार पानी पर्ने क्रम उस्तै रहन्छ, शुक्रबारदेखि भने मौसम केही खुल्नेछ ।

उनका अनुसार देशको पश्चिमदेखि पूर्वसम्मका सबै आकाश बादलले ढाकेको छ । उच्च हिमाली र पहाडी भेगमा हिमपात सुरु भएको छ भने मध्य तथा तल्लो भेगमा वर्षा सुरु भएको छ । सुदूरपश्चिममा बिहीबार साँझ नै मौसम सुधार हुने सङ्केत रहे पनि अन्यत्र भने शुक्रबारबाट मात्र सुधार हुने उनले बताए । तीन दिनसम्मको अवधिमा देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ । यस पालाको वर्षामा ४० देखि ८० प्रतिशतसम्मको वर्षा काठमाडौँलगायत विभिन्न मुख्य सहरमा हुने अनुमान गरिएको छ ।
गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like