शहरी क्षेत्रमा डेङ्गुको खतरा बढ्दो, लामखुट्टे फैलाउनेलाई कारबाही गर्न सुझाव

by समतल अनलाइन

काठमाडौं । लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु रोग पछिल्लो समय शहरी क्षेत्रमा बढी देखिन थालेको पाइएको छ । शहरी क्षेत्रमा धारामा पर्याप्त मात्रामा पानी नआउँदा नागरिकले भाडामा पानी जोहो गरेर राख्ने र त्यस्ता पानीमा लामखुट्टेले अण्डा पार्ने र लार्भाको विकास हुने हुँदा समस्या थपिदै गएको चिकित्सकहरुले बताएका छन् ।

आधुनिक जीवनशैली, पानीको पर्याप्त व्यवस्था नहुनु र समयमै राम्रोसँग फोहोर मैलाको व्यवस्थापन नहुनु लगायतका कारणले शहरी क्षेत्रमा डेङ्गु रोग फैलिन थालेको उनीहरुको भनाई छ ।

केही दिन अगाडी डेङ्गुसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुले काठमाडौँमा स्थलगत भ्रमण गर्दा डेङ्गु संक्रमण फैल्याउने लामखुट्टे, अण्डा र लार्भा छ्यापछ्याप्ती भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक लालले जानकारी दिनुभयो । उहाँले लामखुट्टेको टोकाइबाट बच्न अहिलेदेखिनै सजग नहुने हो भने डेङ्गु रोगले विकराल रुप लिने सकिने चिन्ता व्यक्त गर्नुभयो ।

डेङ्गु नियन्त्रणको लागि स्थानिय तह, अस्पताल, प्रदेश र केन्द्रबाट पनि विभिन्न उपाय अपनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । धुँवाबाट लामखुट्टे भगाउने प्रक्रिया खासै प्रभावकारी नहुने र धुँवामा प्रयोग गरिने विषादी स्वास्थ्यको लागि हानिकारक हुने हुँदा प्रयोग नगर्न पनि महाशाखाले आग्रह गरेको छ । महाशाखाका प्रखुम डा. लालले झन्झटीलो भए पनि लामखुट्टे खोज्ने र नष्ट गर्ने काम नै गर्नुपर्ने बताउनु भयो ।

कुनै संघसंस्था वा घरको वरिपरि लामखुट्टेले लार्भा पार्ने वातावरण बनाउँदासम्म बेवास्था गरेको खण्डमा सम्बन्धित घरधनी वा संघ संस्थालाई केही हदसम्म कार्वाही गर्न सकिने व्यवस्था पनि ल्याउनु पर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

यस्तो कानुनको अभ्यास छिमेकी राष्ट्र भारत लगायत विश्वका धेरै देशहरुले गर्दै आईरहेको विज्ञहरुले बताएका छन् ।

 
 
  
 

You may also like