जनपत्रकार चौधरी माथि प्रशासनको गिरफ्तार प्रयास

by समतल अनलाइन

दाङ , साउन २५ जनपत्रकार संगठन नेपालकी केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश डटकमकी जानकी चौधरीलाई प्रहरीले शुक्रबार दाङबाट गिरफ्तार गर्ने प्रयास गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं.५ स्तरीय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन नेपाल पत्रकार महासंघ दाङको सभाहल पुगेकी पत्रकार चौधरीलाई प्रहरीले गिरफ्तार गर्ने प्रयास गरेको थियो ।

कोषाध्यक्ष चौधरीलाई नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले नियन्त्रणमा लिन खोजेपछि कार्यक्रममा सहभागी पत्रकारहरुले प्रतिवाद गर्दै प्रहरीबाट खोसेर चौधरीलाई सुरक्षित राखेका थिए । महासंघको प्रदेश स्तरीय गोष्ठीमा सहभागी हुन दाङ पुगेका पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोख्रेल, महासचिव रमेश विष्ट र सचिव उदय जि.एम. लगायत केन्द्रीय पदाधिकारी, प्रदेश र जिल्ला नेतृत्वका पत्रकारहरु सहभागी भएको कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्नु प्रेस जगत माथि सरकार दमन कदम भएको अग्रज पत्रकारहरुले वताएका छन्् ।

पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि कार्यक्रममा सहभागी सबै पत्रकारले प्रतिवाद गरेपछि प्रहरी पछि हटेको थियो । कोषाध्यक्ष चौधरीलाई गिरफ्तार गर्ने प्रयास गरेको प्रति जनपत्रकार संगठन, नेपालले एक प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ । अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै फरक विचार तथा आस्था राख्न पाउने संवैधानिक अधिकार कुल्चदै आस्थाकै आधारमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने सरकारी कदमको विज्ञप्तीमा विरोध गरेका छन्् ।

विज्ञप्तिमा भनिएको छ,‘सरकारको यस्तो कदम शैय नहुने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो अभियान नरोकिने पनि प्रष्ट पार्न चाहन्छौं । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दछौ ।’ विचार र आस्था राखेकै कारण पत्रकारलाई पक्राउ गरि झुठा मुद्दामा फसाउने सरकारी षड््यन्त्रको भण्डाफोर गर्नुपर्ने कार्यक्रमका सहभागी पत्रकारहरुले जोड समेत दिएका छन्् ।

पत्रकार महासंघ दाङको कार्यलयमा आयोजित कार्यक्रममा संगठनका बिषयबस्तु राखेर ढोकामा आउन लाग्दा प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिने कोसिस गरेको थियो । प्रतिवादको क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जियम, पत्रकार हरि शर्मा र गणेश खनाल लगायत पत्रकारको हातमा सामान्य चोटपटक समेत लागेको छ ।

 
 
  
 

You may also like