‘अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण’

by समतल अनलाइन

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताएकी छन् ।

‘समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताइन् ।

उनले समाजको थिचोमिचो सहँदै आएका मुक्त हलिया र दलित समुदाय अझै हिंसाको पीडा खेप्न बाध्य भएको बताइन् । ‘महिलाहरुले हिंसा सहेर बस्नु पर्दैन’, उनले भनिन्, ‘न्यायिक निकायमा पुगेर हिंसाको प्रतिकार गर्नु पर्दछ ।’

हिंसाका घटनाहरु न्यायिक निकायमा पुगेपछि मेलमिलापमा टुङ्गिँदा यसले प्रश्रय पाउँदै आएकाले कानूनी उपचारमा लाग्नुनै श्रेयस्कर हुने उनले बताइन् । मुक्त हलिया अगुवा तथा पूर्व सांसद हरि श्रीपालीले मुक्त हलिया समुदाय दलित समुदायकै व्यक्तिहरु भएकाले उनीहरुमाथि गर्ने छुवाछूत हट्न नसकेको बताए । समाजमा दलित समुदायमाथि अझै हिंसा र थिचोमिचो व्याप्त रहेकाले त्यो हट्नुपर्ने धारणा उनले राखे ।

सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले कानूनले सबै जातजाति, वर्ग र समुदायमाथि समान व्यवहार गर्ने भएकाले कानून विपरीतका कार्य गरे कानूनअनुसार कारवाहीका लागि अगाडि सर्नुपर्ने बताए ।

कानूनमा उल्लेख भएका प्रावधानहरु लागू गर्नसके हिंसाका घटना न्यूनीकरण गर्न मद्दत पुग्ने उनले बताए । प्रदेश सरकारले हिंसाविरुद्धका नीति नियम र कानूनहरु कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आवश्यक पर्ने थप नीति नियम बनाउन तयार रहेको बताए ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले मुक्त हलियालाई सामाजिकरूपमा पुनस्र्थापन गर्नका लागि शिक्षा, रोजगार र स्वास्थ्यको व्यवस्थासँगै नीति निर्माण तहमा पहुँच अभिवृद्धि गरी आर्थिकरूपमा आत्मनिर्भर बनाइनुपर्ने बताए ।

 
 
  
 

You may also like