नेता ठेकेदार भएका योजना अलपत्र

by समतल अनलाइन

ओखलढुङ्गा। ओखलढुंगामा पूर्वाधार विकासका दर्जनभन्दा बढी योजना अलपत्र छन् । विभिन्न राजनीतिक दलका नेता ठेकेदार बनेर ठेक्का लिएका योजना अलपत्र परेका हुन्  ।

ठेक्का लागेका जिल्लाको मुख्य तथा सहायक सडक निर्माणदेखि पक्की पुल, शिक्षा र स्वास्थ्यका भवनसहितका संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । कतिपय योजनाको काम तोकिएको समय सकिँदासम्म सुरु नै भएका छैनन्  । अधिकांश योेजना अलपत्र छन् । यी सबै अलपत्र योजनाका ठेकेदार नेता हुन् ।

१० वर्षअघि तत्कालीन स्थानीय विकासमन्त्री राजेन्द्र पाण्डेले रामेछापको साँघुटारमा शिलान्यास गरेको साँघुटार–घोराखोरी–ओखलढुंगा–सिलौरीघाट सडक अलपत्र छ । करोडौं बजेट खर्च भइसके पनि रामेछापदेखि सिंगो ओखलढुंगा हुँदै खोटाङ जोड्ने लक्ष्य राखिएको सडक निर्माणको काम सुस्त छ ।

कांग्रेस नेता कान्छाराम तामाङ, जितबहादुर श्रेष्ठसहितका निर्माण व्यवसायीले जिम्मा लिएको उक्त सडकमा भएको कामसमेत गुणस्तरीय नभएको संघीय संसद्को विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले बताइन् । ‘त्यो सडक हेर्न समितिको टोली गयो । काम खासै भएको देखिएन ।

गरेको काम पनि गुणस्तरीय छैन,’ सभापति खड्काले भनिन्, ‘ठेकेदारलाई पनि बोलाएका थियौँ, तर आएनन् । अब कारबाहीका लागि समितिले सिफारिस गर्छ ।’ केही दिनअघि समितिको एक टोलीले ओखलढुंगाका अधुरा योजनाको स्थलगत अनुगमन गरेको थियो ।

नेता नै ठेकेदार रहेको र अलपत्र परेको अर्को योजना हो, मान्द्रे दोभानमा निर्माणाधीन पक्की पुल । यसले मोलुङ र सुनकोसी गाउँपालिका जोड्नेछ । पुल ठेक्का लागेपछि तीनवटा निर्वाचन सम्पन्न भए ।

नेताहरूले हरेक निर्वाचनमा पुल बनाई छाड्ने अनि काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने प्रतिबद्धता जनाए, तर पुल अझै अधुरै छ । ठेकेदार राजेन्द्र–लोकप्रिय जेभीका भीमबहादुर साउद कांग्रेस नेता हुन् । उनी अहिले डडेल्धुराको परशुराम नगरपालिकाका मेयर छन् ।

डिजाइन फेल भएको भन्दै काम सक्नुपर्ने वेलासम्म सुरु नै गरिएको थिएन । दुई वर्ष लगाएर डिजाइन फेरेर पिलर राख्न थाले पनि अलपत्र छ । तर, जग खन्नासाथ एस्काभेटर बिग्रिन थाले । यही बहानामा दुई वर्ष काम भएन । साउदले स्थानीय निर्वाचनपछि पिलर शिलान्यास र मसानपूजा गराए ।

पछिल्लो पटक थप गरिएको म्याद ०७४ असारसम्म थियो । समयमै पुल नबन्दा लागत झन्डै दोब्बर पुगेको छ । सुरुमा तीन करोड ३२ लाख ५५ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । डिजाइन फेरिएपछि लागत पाँच करोड ६९ लाख पुगेको हो । ८० मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुल निर्माणको कामै सुरु नभए पनि उनको ठेक्काको म्याद भने थपिँदै आएको छ । अहिले पनि काम सुरु भएको छैन ।

मोलुङ–एकवार सडकअन्तर्गतको मोलुङ दोभानमा अर्को सडक पुल निर्माणको काम अलपत्र छ । भ्याटसहित चार करोड तीन लाखमा मोलुङ दोभानको पक्की पुल ०७५ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ०७३ असारमा वाइबा–केउरिनी जेबी कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरी जिम्मा लिएको थियो ।

सकिनुपर्ने समय सकिएको साढे दुई वर्ष बित्दा पनि पुल निर्माणको काम आधा पनि भएको छैन । वाइबा–केउरिनी जेबी कन्स्ट्रक्सनका ठेकेदार रवीन्द्र लामा कांग्रेस नेता हुन् । उनले काम अघि नबढाए पनि ठेक्काको म्याद थपिरहेका छन् । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like