ठूलो भोजन पछि किन झन धेरै भोक लाग्छ !

by समतल अनलाइन

बीबीसी । धेरै ठूलो भोजनपछि हामीलाई त्यो खानाले अर्को दिन पनि पुग्छ जस्तो भइरहेको हुन्छ । तर त्यसको भोलिपल्ट उल्टै हामीलाई झन् धेरै भोक लाग्ने गर्दछ र फेरि त्यति नै खाना खान सक्छौँ जस्तो महसुस हुने हुन्छ । यसमा प्रायःले धेरै खानाले हाम्रो पेट तन्काउने हुनाले यस्तो भएको हुन सक्ने अनुमान गरेको पाइन्छ । तर वास्तवमा हामीलाई अघिल्लो दिन सेवन गरेको अधिक मात्राको भोजनकै कारण धेरै भोक लागिरहेको हुन्छ ।

किनकि अत्यधिक बढी खानेकुराले हाम्रो शारीरिक क्रियाकलापमा परिवर्तन ल्याउँछ र खाने शैली सम्बन्धी नयाँ बानी विकास गर्दछ । हो भोक लाग्दा र अघाउन्जेल खाँदा हाम्रो पेटको आकारमा घटबढ हुन्छ । यसमा खाना पच्न थालेपछि हाम्रो पेट सिकुटिदै जान्छ । सबै खाना आन्द्रातर्फ जाँदा हाम्रो पेटमा खाना र हावाको दबाबले गर्दा आवाज आउन थाल्छ जसलाई ‘बोर्बोरिग्मस’ भनिन्छ र पेट खालि भएको हुँदा हामीले त्यो आवाज सुन्ने पनि गरेका छौँ ।

यसरी पेट कराएपछि अर्को खानाका लागि तयार रहन पेट फेरि फुल्दै जाने गर्दछ जसलाई हाम्रो हर्मोनले नियन्त्रण गरिरहेको हुन्छ । तर खाना खानुले मात्र हाम्रो पेट तन्काउँछ भन्नु चाहिँ गलत हुनेछ । किनकी पेट शरीरको अत्यन्तै इलास्टिक भाग हो । हाम्रो शरीरमा भोक जगाउने दुई विशेष हर्मोन छन् जसमध्ये एन।पी।वाइ र एजी।आर।पी। जुन हाइपोथ्यालामसबाट निस्क्रित हुन्छन् भने ग्रेलिन चाहिँ पेटबाट उत्पन्न हुने गर्दछ ।

यस्तोमा जब हाम्रो पेट खालि हुन्छ ग्रेलिन रिलिज हुन्छ र यसले हाम्रो दिमागमा एनपीवाइ र एजीआरपीको उत्पादन बढाउन सुरु गर्छ । यी दुई हर्मोनले नै हामीलाई पेटभरि भएको सन्तुष्टिपूर्ण भावना वा भोकको अनुभूति जगाउने गरेका हुन् । यसमा पनि दुब्ला पातला मानिसहरुमा ग्रेलिनको स्तर मोटा मान्छेको तुलनामा कम हुने गर्दछ ।

यसरी हाम्रो पेटमा एउटा निश्चित हर्मोन प्रणाली हुन्छ जसले पेट खालि भएको कुरा मस्तिष्कलाई बताउँछ । तर यही सम्बन्धका कारण धेरै अवस्थामा हामीलाई बिहान अधिक मात्रामा खाना खाएपनि बेलुका भएपछि भोक लागेजस्तो हुने गर्दछ । उदाहरणका लागि हामीले दुईतीन दिन लगातार बेलुकीको खानापछि सोफामा टिभी हेर्दैगर्दा चिप्स र चकलेट खाने गर्यौँ भने अर्को दिन हामी त्यो ठाउँमा त्यही समयमा बस्नासाथै खाउँखाउँ जस्तो वा भोक लागेजस्तो अनुभूति हुने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

कतिपय अवस्थामा यस किसिमका खानेकुराहरु एउटा निश्चित समय वा व्यवहारपछि हाम्रो स्मरणमा पुनः सक्रिय हुन थाल्छन् जसले हामीलाई भोक लगाउने गर्दछ । यस्ता चाहना पूरा गर्न सजिलो हुन्छ तर बानी लागेपछि छुटाउन चाहिँ कठिन हुने गर्दछ । यसकारण पनि ठूलो भोज खाएपछिको अर्को दिन मात्र नभएर तीनचार दिनसम्मै दिनको एउटा निश्चित समयमा हामीलाई धेरै भोक लाग्ने गर्दछ ।

 

 
 
  
 

You may also like