नेपालगञ्जका दुई कपडा पसलमा आगजनी, डेढ करोड क्षति

नेपालगञ्ज , साउन २३ । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलमा दुई कपडा पसलमा आगजनी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मङ्गलबार राति आगलागी भएको थियो ।

आगलागीबाट दुवै पसलमा रहेका सामान जलेर नष्ट भएकाले रु डेढ करोडको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बडिमालिकाबाट शुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । विद्युत् चुहिएर आगलागी भएको आशङ्का गरिएको छ । उपमहानगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए । पछिल्लोपटक नेपालगञ्जमा विद्युत् चुहिएर पसलमा आगजनीका घटना बढेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले वैशाखयता मात्रै चार पसलमा आगलागी भई करोडौँको क्षति भएको बताउनुभयो । उहाँले आगलागी पीडित व्यवसायीलाई राहत र क्षतिपूर्तिको व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउँदै सहयोगका लागि उद्योगी, व्यवसायीलाई आग्रहसमेत गर्नुभयो

 
 
  
 

You may also like