लुम्बिनी प्रदेशमा एक दर्जन सडक अवरुद्ध

बुटवल । शुक्रबारदेखि परेको वर्षाका कारण देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्याउनुका साथै सडक सञ्जाल तथा हवाई सेवालाई समेत प्रभावित पारेको छ । निरन्तरको वर्षाले लुम्बिनी प्रदेशका करिब एक दर्जन सडक अबरुद्ध भएका छन् ।

आइतबार विहानसम्म लुम्बिनीमा विभिन्न ९ वटा ग्रामिण तथा मुख्य सडकहरु अवरुद्ध भएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट बाढीसहित झरेका गग्र्यान र ढुङ्गामाटो तथा लेदोले सडक अवरुद्ध भएको छ । उक्त सडकलाई खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी गुल्मी पाल्पा जोड्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका-२ मालमूल भन्ने स्थानमा सडकमाथिबाट आएको पहिरोले नम्बर नखुलेको एक मोटरसाइकललाई पुरेको छ । मोटरसाइकल कुनै मानवीय क्षति नभएपनि पहिरो हटाएर मोटरसाइकल निकाल्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा रिडी-तम्घास जोड्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । रिडीदेखि सत्यवती गाउँपालिका जोड्ने सडक पनि अवरुद्ध छ । यसैगरी तम्घासदेखि सिमलटारी जोड्ने सडक पनि पहिरोले अवरुद्ध बनेको छ । रिडीदेखि पूर्तिघाट जोड्ने सडक पनि अवरुद्ध रहेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सकड पहिरोले अवरुद्ध छ भने प्युठानको भालुवाङ–चकचके सडक खण्ड अन्तरगत माण्डवी गाउँपालिका १ र ३ मा पहिरोका कारण अवरुद्ध छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल–नारायणगढ सडकको दाउन्नेमा भने अहिले यातायात सुचारु भएका छन् । दाङको घोराही-तुलसीपुर सडक पनि सुचारु गरिएको छ । निरन्तरको वर्षाले विभिन्न ठाउँका सडकहरु अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेकाले सचेत भएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

 
 
  
 

You may also like