भु–उपयोग कार्यान्वयन सम्बन्धि प्राविधिक तालिम सैनामैनामा सुरु

by समतल अनलाइन

सैनामैना । स्थानिय तहहरुलाई केन्द्रित गर्दै भु–उपयोग कार्यान्वयन सम्बन्धि १ महिने प्राविधिक तालिम सैनामैनामा सुरु भएको छ । भू–उपयोग नीति अति आवश्यक भए पनि नेपालमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको अवस्थालाई मध्यनजर गर्दै आजदेखी १ महिने तालिम सुरु भएको नगरपालिकाले जनाएको छ ।

तालिमको शुभारम्भ गर्दै जिल्ला समन्वय समितीका अध्यक्ष एकराज विश्वकर्माले भू–उपयोग नीतिलाई कसरी योजनामा बदल्ने र कार्यान्वयन गर्ने भन्ने मुख्य चुनौतीको विषय रहेको बताउनुभयो । उहाँले नेपालको भू–उपयोग क्षेत्रलाई उपयोग गर्ने तर्फ ध्यान केन्द्रित गरिनुपर्नेमा जोड दिनुभयो । विश्वकर्माले योजनाहरुलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्नका लागि एक महिने तालिमले सहज पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा तालतलैया, वन तथा पर्यटन क्षेत्रको व्यवस्थापन गर्न सके मात्र समृद्ध मुलक बन्ने अध्यक्ष विश्कर्माको भनाई छ ।

भू–उपयोग नीतिले बृहत्तर क्षेत्र जस्तै ः कृषि, वन, वातावरण, शिक्षा, स्वास्थ्य आदिलाई समेटेको हुँदा पालिकाहरुमा प्राविधिक तालिमहरुको आवश्यकता रहेको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।

कार्कीले कुन पालिकामा कुन जमिनलाई कुन प्रयोजनका लागि उपयोग गर्ने भन्ने स्पष्ट योजना हुनुपर्नेमा जोड दिँदै अन्यत्र बनाएको भु–उपयोग उपयुक्त हुने नहुनेमा निश्चित हुन नसकिने बताउनुभयो । सैनामैनामा बन्ने भु–उपयोग निति वडा स्तरमै छलफल चलाएर सर्वसम्मत रुपमा पारित भएको जानकारी गराउँदै सहभागी प्रशिक्षार्थीहरुलाई व्यवहारिक रुपमै प्रभावकारी तरिकाले तालिम लिन समेत आग्रह गर्नुभयो ।

सैनामैना ४ मा रहेको नगरसभाहलमा भएको तालिममा उपप्रमुख बिना राना, सैनामैना नगर प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी, वडा नं ४ का वडाध्यक्ष धन बहादुर कार्की,वडा नं ३ का वडाध्यक्ष रत्न बहादुर पौडेल, सर्वेक्षण नापी विभाग बुटवलका दुर्गा प्रसाद ओझा लगायतको सहभागिता रहेको थियो । तालिममा रुपन्देहीका १६ स्थानिय तहका करिब २० जनाकोे सहभागिता रहेको छ ।

 
 
  
 

You may also like