वैदिक गणित प्रशिक्षण कार्यक्रम सम्पन्न

by समतल अनलाइन

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ शास्त्री प्रथम वर्षमा सिद्धान्त ज्योतिष अध्ययनरत छात्रछात्राहरुको आयोजनामा आज वैदिक गणित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक जयन्त आचार्यले प्रशिक्षण दिनुभएको थियो । उहाँ आदिकवि भानुभक्त आचार्यको वंशज हुनुहुन्छ । कुलपति पदक प्राप्त गर्नुभएका आचार्यले संस्कृत माध्यमिक विद्यालय रानिपोखरिबाट आफ्नो अध्ययन प्रारम्भ गरि वाल्मीकि विद्यापीठबाट आचार्य तहमा सर्वप्रथम भै अहिले विद्यावारिधि गर्दै हुनुहुन्छ । उहाँले महेन्द्र विद्याभूषण क पदक,लिलाबल्लभ पन्त पदक,महर्षी कश्यप स्वर्ण पदक तथा अम्बिकालोक पुरस्कार प्राप्त गर्नुभएको छ ।

 

खगोल ज्योतिषमा उहाले रेडियो एस्ट्रोनोमी,स्टेलर एस्ट्रोनोमी,आइराफ,ग्रहण,आकाशको फोटोग्राफी आदि अत्याधुनिक विषयमा विभिन्न देशबाट अध्ययन गर्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय खगोल वर्ष २००९ को नेपाल प्रमुख तथा २००७ देखि २००९ सम्म अन्तर्राष्ट्रिय हेलियो फिजिकल वर्षको राष्ट्रिय संयोजक समेत भइ अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गरि सक्नुभएको छ । उहाँ अमेरिकी खगोल समाजको एकमात्र नेपाली सदस्य,जयतु संस्कृतम् संस्थाको आजिवन सदस्य तथा इन्ष्टिच्युट फर द आड्भान्समेण्ट अफ वैदिक म्याथम्याटिक्स IAVM को आजिवन सदस्य समेत हुनुहुन्छ ।

उहाले विभिन्न मुलुकमा आयोजना गरिएका गोष्ठी सेमिनारहरुमा सहभागी भइ आफ्ना अनुसन्धानका कार्यपत्रहरु प्रस्तुत गर्नुभएको छ । करिब डेढ दर्जन देशको भ्रमण गर्नुभएका आचार्य संस्कृत,अङ्ग्रेजी,नेपाली भाषाका ज्ञाता हुनुहुन्छ । उहले हालै घामबाट समय निर्धारण गर्ने यंत्र धुपघडि निर्माण गरि दाङमा स्थपना गर्ने तयारी गर्नुभएको छ । उहाँले वैदिक गणितको अध्ययन आफ्ना पिता प्रा.डा. साम्बराज आचार्यबाट प्राप्त गर्नुभएको थियो भने यसै वाल्मीकि विद्यापीठमा २०५९ साल फागुन ४ गते एउटा प्रवचन दिइसक्नुभएको र उहाँ वैदिक गणितका विषयमा २०५० सालदेखि निरन्तर अनुसन्धानमा लागिराख्नु भएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि विद्यापीठका प्राचार्य सहप्राध्यापक डा. गणेश प्रसाद घिमिरेले विद्यार्थीहरुले एकदमै राम्रो कामको सुरुवात गरेको र यस्ता रचनात्मक कार्यको लागि विद्यापीठबाट सहयोग गर्ने बताउनुभएको छ ।।

कार्यक्रममा करिब ३५ जना प्रशिक्षार्थीहरु लाभान्वित भएका छन् भने प्रशिक्षार्थीहरुले यस्तो कार्यक्रम फेरि आयोजना गर्न सके उपयुक्त हुन्छ भन्ने प्रतिक्रिया दिएका छन् । कार्यक्रमको सन्चालन विद्यार्थी शिवलाल पौडेलले गर्नुभएको थियो ।।

 
 
  
 

You may also like