सिद्वार्थ केवलकारले हकप्रद शेयर निस्कासन गर्ने ः बोलायो विशेष साधारण सभा

by समतल अनलाइन

बुटवल । आईपिओ निस्कासनको तयारी गरेको सिद्धार्थ केवलकार लिमिटेडले हकप्रद शेयर निस्कासनको पनि तयारी गरेको छ । त्यसको लागि कम्पनीले यहि मंसिर १४ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

गएको कात्तिक २८ मा बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निस्कासन, प्रवन्धपत्रमा केही नियमावलीका केही वुदामा संशोधन लगायतका विषयमा निर्णय लिनको लागि विशेष साधारण सभा आह्वान गरेको हो । सिद्धार्थ केवलकार लिमिटेडले कम्पनीको शेयरधनीहरुलाई १ शेयर बराबर १.१२५ को अनुपातमा हकप्रद शेयर निश्कासनको तयारी गरेको छ ।

हकप्रद शेयर निश्कासन पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २७ करोड ५० लाख पुग्ने छ । यो कम्पनीलाई १५० करोडको बनाईँदै छ । बाँकी २२ करोड ५० लाख रुपैंयाको लागि प्रचलित कानुन अनुसार सार्वजनिक शेयर (आईपिओ) निस्कासन गरिने कम्पनीका प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताउनु भयो । बुटवल उपमहानगरपालिका वडा नं. १ बाट पाल्पाको तिनाउँ गाउँपालिकाको नुवाकोटलाई जोड्ने यो केवलकारको वटम स्टेशन र टप स्टेशनमा पूर्वाधार निर्माण भईरहेको छ ।

नुवाकोटको ऐतिहासिकतालाई उजागर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनाउने गरि काम गरिएको कम्पनी सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर राजेन्द्रसिंह गुरुङले जानकारी गराउनु भयो । निर्माणकै क्रममा रहेको यो केवलकार गएको दशैंबाट अनौपचारिक सञ्चालन गरिएको छ । जसमा हालसम्म ७५ हजार भन्दा बढी पर्यटकले केवलकारको यात्रागरी नुवाकोट अवलोकन गरेका छन् ।

यो केवलकारको दुरी २ किलोमिटरको रहेको छ । जसमा २५ वटा गोण्डुला रहेका छन् । एउटा गोण्डुलामा ८ जना यात्रु क्षमता रहेको छ । बटम स्टेशनबाट टप स्टेशनमा पुग्न ९ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले मंसिर १ गतेदेखि लागु हुनेगरी केवलकारको एकतर्फी र दुईतर्फी भाडा निर्धारण गरेको छ । जसमा एकजनाको दुई तर्फी भाडा शुल्क ७ सय रुपैंया र एकतर्फी ४ सय रुपैंया निर्धारण गरिएको छ । २०८१ चैत मसान्तसम्म विशेष छुट सहित ३५० रुपैंयामा दुई तर्फी यात्रा गर्न सकिने छ । त्यसैगरी नेपाल बाहेक सार्क राष्ट्रबाट आएका पर्यटकका लागि १ हजार रुपैंया र अन्य देशबाट आएका पर्यटकका लागि १५ डलर लाग्ने छ । त्यसमा पनि सार्क राष्ट्रकालाई यो अवधिको लागि एक जना पर्यटकको दुईतर्फी भाडा ५५० रुपैंया र सार्क बाहेकका राष्ट्रबाट आएका पर्यटकका लागि ७ डलर कायम गरिएको कम्पनीले जनाएको छ ।

 
 
  
 

You may also like