‘प्रदेश पाँच’ एचआईभी संक्रमितहरुको दोस्रो स्थानमा

by समतल अनलाइन

“माईग्रेसम इन्नोसेन्ट समस्या”
झविन्द्र देवकोटा
बुटवल । एचआईभी एड्स रोकथाममा सरकारी पक्षबाट धेरै प्रयासहरु भईरहेतापनि यसको जोखिम भने कम हुन सकेको छैन । एचआईभी रोकथामका लागि विभिन्न निकायबाट जनचेतनामुलक कार्यक्रमहरु हुन्छन्, तर तथ्याङ्क भने प्रत्यक वर्ष उस्तै–उस्तै देखिने गर्दछ ।

बैदेशिक रोजगारीमा जाने र आउने (माईग्रेशन) समस्याका कारण एचआईभी एड्सको जोखिम र तथ्याङ्कको अंक उस्तै उस्तै देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरी भन्छन –‘‘अहिलेको इन्नोसेन्ट (निर्दोश) समस्या नै एचआईभी संक्रमण हो । घरमा बस्ने बाहिर नजाने गृहणी एचआईभीको संक्रमित बनेका छन् ।

बाहिरबाट काम गरि आउने (श्रीमान) हरुले एचआईभी बोकेर ल्याउने र छोडेर जाने हुदाँ यो समस्या इन्नोसेन्ट बनेको हो ।’’ उनले बैदेशिक रोजगारीका लागि बाहिरी मुलुक जाने र समय समयमा घर आएर श्रीमतीलाई उपहार दिने समस्या अहिलेको जटिल समस्या भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको सुझाव दिए । सन् २०२० सम्म एचआईभी एड्स रोकथाम र नियन्त्रणको लागि सरकारले ९० प्रतिशत संक्रमित पत्ता लगाउने, पत्ता लगाईएका मध्ये ९० प्रतिशतलाई एआरभी उपचारको पहुँचमा ल्याउने, उपचारमा रहेका मध्ये ९० प्रतिशत भाईरल लोडलाई कम गराउने लक्ष्य लिएको छ ।

त्यसलाई सन् २०३० सम्म ९५/९५ प्रतिशत पुर्याउने लक्ष्य सरकारको छ । तथापि माईग्रेशनका कारण इन्नोसेन्ट बनि रहेको संक्रमणको दरलाई घटाउनु जोखिम जस्तै बनेको स्वास्थ्य कार्यालयको गुनासो छ । ‘बैदेशिक रोजगारीका लागि गएकाहरु एचआईभीका बारेमा गम्भिर र बढी सचेत हुनु पर्ने देखिन्छ भन्छन’–फेरी स्वास्थ्य कार्यालयका प्रमुख गिरी ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार करिव ७५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमवाट सरेको पाइएको छ । उच्च जोखिममा रहेका समूहहरु सुइद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेश्रोलिंगीहरु, रोजगारीका लागि विदेशिनेहरु र जेलमा रहेका कैदीबन्दीहरु छन् भने रोजगारीका लागि बिदेशिनेहरु तिनका परिवार र सुइद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र एचआइभी संक्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च रहेको कार्यालयको भनाई छ ।

पहिलेका वर्षहरुमा जस्तै संक्रमितको संख्या उस्तै देखिएतापनि दरमा भने कमि आएको देखिन्छ । नेपालको प्रदेश नम्बर तीन संक्रमितको दरमा पहिलो स्थानमा छ भने, प्रदेश नम्बर पाँच दोस्रो स्थानमा देखिन्छ । यस्तै कर्णाली प्रदेशमा भने संक्रमितको दर धेरै कम छ । त्यहा मात्र २५ जनामा एचआइभीको संक्रमण देखिन्छ । यस्तै धेरै संक्रमित रहेको प्रदेश नम्बर तीनमा ५ सय ८३ र प्रदेश नम्बर पाँचमा ५ सय ५२ देखिन्छ ।

अन्य प्रदेशमा धेरै कम छ । भने प्रदेश नम्बर तीन र ५ मा मात्र ३१ जना संक्रमितको फरक छ । यस्तै प्रदेश नम्बर पाँचमा एआरटी (एन्टी रेट्रोभाईरल थेरापी) ३ हजार ३ सय ९२ जनाले लिदै आएका छन् । प्रदेश नम्बर पाँचमा एचआईभी परीक्षण गरिएका ४६ हजार ९ सय ७७ मध्ये १ दशमलव २ प्रतिशतमा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश पाँच कार्यालयले दिएको तथ्याङकमा छ ।

यो तथ्याङ्क हालकै हो । यस्तै रुपन्देहीमा बितेको तीन वर्षमा संक्रमितको संख्या खासै फरक छनै । यो आर्थिक वर्षमा १ सय ७३ जना संक्रमित भएको तथ्याङ्क छ । अघिल्लो वर्षको पनि जोडेर यो वर्ष १ हजार २ सय ७८ जनाले एआरटी लिएको छन् । नेपालमा २९ हजार ९४४ जना एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । ती मध्ये पुरुषको संख्या १७ हजार ७ सय ३२ र महिलाको संख्या १२ हजार २ सय १२ रहेको पाईन्छ ।

नेपालको वर्तमान एचआइभीको अवस्थालाई केन्द्रीकृत महामारीको रुपमा परिभाषित गरिन्छ । बयस्क (१५ वर्षदेखि ४९ वर्षको उमेर समूहमा) जनसंख्यामा एचआइभीको व्याप्तता दर शुन्य दशमलव १४ प्रतिशत रहेको तथ्याङ्कले बताउँछ । एचआईभीको नियन्त्रणमा समुदायको प्रवाभकारी भुमिका विषयक नारा सहित आईतबार आज विश्व एड्स दिवस मनाईदै छ ।

विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वयमा रुपन्देहीमा पनि विश्व एड्स दिवस मनाइने भएको एड्स हेल्थ केयर फाउण्डेशन नेपालका क्षेत्रीय निर्देशक धर्मराज भट्टराईले जानकारी दिए ।

 
 
  
 

You may also like