कार्वन उत्सर्जन नियन्त्रण गर्न आफू सफल रहेको चीनको दाबी

by समतल अनलाइन

चीन । चीनले कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०१८ को लक्ष्य पूरा गर्न आफू सफल भएको दाबी गरेको छ ।

कुल घरेलु उत्पादनको प्रति एकाइ कार्बन उत्सर्जन सन् २०१८ मा चार प्रतिशतले कटौती गर्न सफलता मिलेको चीनले जनाएको छ । चीनले सन् २०१८ का लागि ०.१ प्रतिशत कार्बन उत्सर्जन कटौती गर्ने लक्ष्य तय गरेको थियो ।

उसले ‘जलवायु परिवर्तनको सामना : चीनको नीति तथा कार्य सम्बन्धी २०१९ वार्षिक प्रतिवेदन’ लाई बुधबार सार्वजनिक गरेको हो । वातावरण उपमन्त्री चाउ यिङ् मिनले प्रतिवेदनबारे टिप्पणी गर्दै पत्रकार सम्मेलनमा सन् २०१८ देखि चीनको कार्बन उत्सर्जन न्यूनीकरण जारी राखिएको बताए ।

भविष्यमा हरितगृह ग्याँस निष्कासनलाई नियन्त्रण गर्दै जाने उनको भनाइ थियो । वातावरण उपमन्त्री मिनले हरितगृह ग्याँस उत्सर्जनलाई कटौती गर्दै यस वर्ष संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन बैठकमा सकारात्मक सफलतालाई पेश गर्नेगरी काम गरिरहेको जिकिर गरे ।

चीनले सन् २००५ को तुलनामा सन् २०१८ मा प्रति एकाइ कार्बन उत्सर्जनको कुल घरेलु उत्पादनलाई ४५.८ प्रतिशतले कमी गरेको बताए । यो कार्बन उत्सर्जनका लागि चीनले सन् २०२० सम्म ४० देखि ४५ प्रतिशत कम गर्ने गरी तय गरेको तालिकासँग मिल्ने उनको भनाइ थियो ।

तथ्याङ्कमा चीनले सन् २००५ पछि योजनाअनुसार पाँच अर्ब २६ करोड टन कम कार्बनडाइअक्साइड उत्सर्जन गरेको छ । चीनले गैर–खनिज इन्धनको उपभोग गत बर्षको अन्त्यसम्ममा १४.३ प्रतिशत पुर्‍याइएको दावी गरेको छ ।

त्यस्तै चीनको नवीकरणीय उर्जा स्रोतबाट उत्पादन गरिएको उर्जा गत बर्ष २६.७ प्रतिशत पुगेको थियो । चीन जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न लिएको कार्बन उत्सर्जन नियन्त्रण र गरिबी निवारणका लागि लिएको अभियानमा शतप्रतिशत सफल रहेको मन्त्री मिनले बताए । चीनले सन् २००९ देखि लगातार जलवायु परिवर्तनको सामना सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । एजेन्सी

 
 
  
 

You may also like