नेकपा आक्रामक रुपमा संगठन विस्तारमा : दुई वर्षभित्र ३२ लाख पार्टी सदस्य

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ दल नेकपाले ‘आक्रामक’ संगठनात्मक योजना बनाउन लागेको छ । चार महिनाअघि संगठन विभागले नेतृत्व पाएपछि संगठनात्मक योजना बनिरहेको छ ।

दुई वर्षभित्र ३२ लाख पार्टी सदस्य बनाउने ‘महत्वकांक्षी’ योजनासहित संगठन विभागले कार्ययोजना तयार पारेको छ । विभागका संयोजक वामदेव गौतम र सहसंयोजक जर्नादन शर्माले तयार पारेको कार्ययोजना विभागका ५ सदस्यबीच एक चरण छलफल पनि भइसकेको छ ।

अब त्यो कार्ययोजना अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल समक्ष छलफलका लागि लगिने छ । पार्टीबाट पारित गराइ कार्यान्वयनमा लैजाने गरी तयारी भएको विभाग सदस्य हरि अधिकारीले जानकारी दिए ।

‘संगठन विभागले के–के काम कसरी गर्ने भन्ने कार्ययोजना बनेको छ, अब पार्टीका दुई अध्यक्षलाई देखाएपछि उहाँहरूको अनुमतिमा विभागले सदस्य परिचालन नीति बनाउँछ’, विभागका सदस्य अधिकारीले भने ।

नेकपाका झण्डै ७ लाख संगठित सदस्य छन् । तत्कालीन एमाले र माओवादी एकतापछि पार्टी सदस्यको अभिलेख राख्न विभाग जुटेको छ ।

विभागलाई पार्टी सदस्य, संगठित सदस्य र मानार्थ सदस्यको अभिलेख राख्ने र प्रमाणित गर्ने, आवश्यकताअनुसार सदस्य तथा संगठित सदस्यको स्थानान्तरण गर्ने, पार्टीका संगठित सदस्य र विभिन्न तहका कमिटी, आयोग, निकाय, विभागका पदाधिकारी तथा सदस्यको वर्गीय, जातिय, भाषिक, लैङ्गिक तथा प्रादेशिक प्रतिनिधित्त्वको तुलनात्मक अभिलेख तयार गर्ने र नियमित रूपमा अद्यावधिक गर्नेलगायतका १२ वटा अधिकार पार्टी नियमावलीमा ब्यवस्था गरिएको छ ।

पार्टीका हरेक संगठित सदस्यले वर्षभरमा कम्तीमा ४ जना पार्टी सदस्य अनिवार्य बनाउनु पर्ने कार्ययोजनाले समेटेको छ । योजना अनुसार काम भए दुई वर्षभित्र ३२ लाख पार्टी सदस्य पुग्ने छन् ।

‘अहिले रहेको सदस्य संख्या दुई वर्षभित्र चारगुण बढी बनाउन पनि हरेक संगठित सदस्यलाई चार जना सदस्य बनाउनु पर्ने नियममा बाध्न खोजिएको हो’, विभागका एक नेताले भने । हरेक पार्टी सदस्यलाई कमिटी मातहात, अल्पमतलाई बहुमत मातहात राखिने योजना विभागको छ । अन्नपूर्ण पोष्टबाट

 

 
 
  
 

You may also like