काठमाडौं । सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ ।
‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन् । उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो ।
उक्त मूर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो । कमलको फूलमा उभिएको उक्त मूर्तिले दुई भगवान्को प्रतिनिधित्व गर्छ । मूर्तिको दायाँ भागले भगवान् विष्णु (नारायण) को प्रतिनिधित्व गर्छ भने र बायाँ भागमा बैकुण्ठ कमलजा (विष्णुको श्रीमती) को प्रतिनिधित्व गर्छ ।
१५औं शताब्दीमा बनेको उक्त मूर्ति १९८४ मा चोरी भएको बाङदेलले उल्लेख गरेका छन् ।
उक्त मूर्ति नेपालबाट चोरी भएका अनेकौं कलाकृतिमध्येको एक हो । नेपालबाट चोरी भएका यस्ता कलाकृतिलाई पश्चिमी मुलुकका संग्रहालय तथा लिलामीकर्ताले बहुमूल्य संग्रहका रुपमा प्रस्तुत गर्ने गरेका छन् ।
नेपाल सरकार तथा अन्य सरोकारवाला निकायले चोरिएका कलाकृति फिर्ता ल्याउन लामो समयदेखि अभियान चलाइरहेका छन् । तर यो अभियान सफल भने हुन सकिरहेको छैन । ‘दी इन्टरनेसनल इन्स्टिच्युट फर दी युनिफिकेसन अफ प्राइभेट’ ले चोरिएका तथा अवैधरुपमा निर्यात भएका सांस्कृतिक वस्तुलाई सम्बन्धित मुलुकमा फिर्ता गर्न भन्दै सम्मेलनसमेत आयोजना गरेको थियो ।
संस्कृतिविद् जगमान गुरुङ चोरी भएका सम्पदा सम्बन्धित मुलुकमा नै फिर्ता हुनुपर्ने बताउँछन् । ‘हाम्रा चोरी भएका कयौं मूर्ति अहिले पनि आफ्नो वास्तविक ठाउँको पर्खाइमा छन् । सरकारले त्यस्ता मूर्तिहरु फिर्ता ल्याउन महत्वपूर्ण रणनीति बनाउन आवश्यक छ,’ गुरुङले भने ।
पुरातत्वविद् तथा संस्कृतिविद्हरु नेपालबाहिर रहेका मूर्तिहरु त्यहाँ मानवनिर्मित कलाका रुपमा हेरिने भए पनि नेपालमा भने त्यस्ता मूर्तिको भगवान्का रुपमा पूजा गरिने र त्यस्ता मूर्तिसँग मानिसको धार्मिक एवं भावनात्मक सम्बन्ध जोडिने बताउँछन् । चोरी भएका त्यस्ता मूर्तिको अभाव सम्बन्धित समुदायमा अहिले पनि महसुस हुने पुरातत्वविद् बताउँछन्।
गत वर्ष न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टले नेपालबाट चोरी भएका दुई मूर्ति फिर्ता गर्न सम्झौता गरेको थियो । टंगालहिटी र यातकाटोलबाट सन् १९८० मा चारी भएका ती मूर्ति उमामहेश्वर र बुद्धका हुन् ।
सन् २०१७ मा नेपालबाट चोरी भएका पन्ध्रौं, सोह्रौं र सत्रौं शदाब्दीमा बनेका चारवटा मूर्ति अमेरिकाले फिर्ता गरेको थियो । अझै कयौं मूर्ति बेवारिसे रुपमा विदेशी भूमिमा छन् । नागरिक दैनिकबाट