रौतहट। राजपुर बमकाण्डमा निलम्वित सांसद मो. आफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ ।
छोरा मारिएको भन्दै आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका श्रीनारायण सिंहको सुरक्षाका लागि रौतहट प्रहरीले प्रहरी हवल्दार खटाएको छ । उनले २४ सै घण्टा सिंहको सुरक्षा दिँदै आएका छन् ।
जाहेरवालामध्ये सिंहलाई बढी सुरक्षा थ्रेट देखिएकाले प्रहरी खटाइएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । अर्का जाहेरवाला रोक्सना खातुनको ०६७ माघ १० गते हत्या भइसकेको छ । खातुनको हत्या कसले र किन र्गयो भन्ने खुलेको छैन । सिंह परिवारको सुरक्षाका लागि नजिकैको चौकीबाट समेत प्रहरी खटिने गरेका छन् ।
पछिल्ला दिनमा प्रत्यक्षरूपमा धम्की नआएको तर फकाउने मनसायले कुराहरू आउने गरेको सिंहका छोरा सतेन्द्रप्रताप सिंहले बताए । आलमको मुद्दामा प्रहरीले अनुसन्धान गर्दा पनि सिंह परिवारलाई मुद्दा फिर्ताको दबाब आएको थियो । सिंहले न्यायाधीश समक्ष पनि आफूलाई पैसा लिएर मुद्दा फिर्ता लिन दबाब आएको बताएका थिए ।
जाहेरी दिएका श्रीनारायण सिंह
बम बिस्फोटका घाइते भनिएका सर्लाही जिल्ला गडैता–२ पिपरातटोलका सफि अहमद तथा भारतको बिहार राज्यस्थित बैरगनिया मुसाचौकका गौरीशंकर रामलाई पनि प्रहरीले सुरक्षा दिएको छ । अहमद र रामले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । उनीहरूलाई प्रहरीले आफ्नो सेल्टरमा सुरक्षा दिएको छ ।
आलममाथि थुनछेक बहस चलिरहँदा रामलाई घरबाट लगेर चारदिनसम्म बन्धक बनाइ स्टोभ पड्केर घाइते भएको भन्ने व्यहोराको कागजमा हस्ताक्षर गर्न लगाएका थिए । रामले अदालतमा बम पड्केर आफू घाइते नभएको व्यहोराको निवेदन अदालतमा बुझाएका थिए ।
बारामा तीनजना साक्षीहरू छन् । उनीहरू र परिवारलाई सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय बारामा पत्राचार भएको छ । रौतहट, बारा, सर्लाहीमा रहेका जाहेरवाला, साक्षी र पीडित परिवारको सुरक्षाका लागि नजिकैको युनिटबाट प्रहरी खटाइएको रौतहटका एसपी खत्रीले जानकारी दिए ।
खटिएका प्रहरीले दिनँहु उनीहरूको अवस्था, सुरक्षाको अनुभूतिका बारेमा बुझेर माथिल्लो निकायमा जानकारी गराउँछन् । आलम पक्षले डर, त्रास, धम्की र अनुचित प्रलोभनमा पार्न सक्ने भन्दै सुरक्षाको मागगर्दै जाहेरवालाको निवेदन परेपछि जिल्ला अदालत रौतहटले मुलकी फौजदारी कार्यविधि संहिता २०७४ को ११४ (२) र मुलुकी फौजदारी कार्यविधि २०७५ को नियम ६१ बमोजिम पीडित, जाहेरवाला, साक्षीको उचित व्यवस्थापन गर्न आदेश दिएको थियो ।
असोज २६ गते पक्राउ परेका आलमलाई अदालतले पुर्पक्षका लागि कारागार राख्न कात्तिक २९ गते आदेश गरेको थियो । उनलाई नख्खु कारागारमा राखिएको छ । बमकाण्डका १० जना अभियुक्त फरार छन् । अन्नपूर्ण पोष्टबाट