संघीयतामा समावेशी सञ्चार आवश्यक

by समतल अनलाइन

लुम्बिनी । लुम्बिनी न्यूज फेस्टिबलमा संघीयतामा समावेशी सञ्चार विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले अन्य क्षेत्रमा समावेशिताको कुरा उठाउने सञ्चारमाध्यम आफै पनि समावेशी हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनीहरुले समावेशी सिद्धान्तलाई हरेक निकायमा समावेश गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै अग्रज पत्रकार मोहन मैनालीले व्यक्ति दक्ष भए कसैले रोकेर नरोकिने बताए । उनले पत्रकारले सबै क्षेत्रको आवाज मिडियामा समेट्न सके समस्या नआउने बताए ।

मधेशी पत्रकार समाजका केन्द्रीय अध्यक्ष मोहन सिंहले लोकतन्त्र कुनै विशेष वर्गले मात्र नआएकोले सञ्चार क्षेत्रमा पनि सबैको प्रतिनिधित्व हुनुपर्ने बताए । उनले सञ्चारमाध्यमलाई समावेशी बनाउन राज्यले पत्रकार उत्पादन गर्न प्रशिक्षणमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

क्रियाशिल पत्रकार महिलाका (डब्लु डब्लु जे) की अध्यक्ष अमिका राजथलाले सञ्चारमाध्यममा महिला पत्रकारको संख्या कम रहेको बताइन् । उनले कपितपय अवस्थामा महिलालाई विभिन्न अवसरबाट वञ्चित गरेको बताइन् । पत्रकार जेवी पुन मगरले पत्रकारिता पेशालाई इमान्दारितापूर्वक निर्वाह गरे समस्या नआउने दावी गरे । उनले पछाडी पारिएका समुदायका आवाजलाई सञ्चारमाध्यममा स्थान दिनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले सोच र व्यवहारिक चिन्तनका कारण बाध्यताले महिलाको आवाज महिलाले नै उठाउनु परेको बताइन् । उनले सञ्चारमाध्यममा आफ्नो आवाज समेटिन नसकेको कुरा विभिन्न समुदायबाट आउने गरेकोले सबैको आवाज मिडियाले समेट्नुपर्ने बताइन् । दैनिकपत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाईले पत्रकारिता पीडितहरुको पहिलो अदालत भएको बताए । उनले सञ्चारमाध्यमले सबै जातजाति, धर्म, संस्कृति तथा भाषालाई सम्मान दिनुपर्ने बताए ।

कार्यक्रमको सहजीकरण लुम्बिनी प्रेस क्लबका महासचिव सम्झना शर्माले गरेकी थिइन् ।

लुम्बिनीको विकासको लाग हातेमालो

त्यस्तै न्यूज फेस्टिबलमा लुम्बिनी भ्रमण वर्ष २०७६ र प्रचार प्रसारको प्रभाव विषयक छलफलमा बोल्ने वक्ताहरुले लुम्बिनीको विकासको लागि सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले लुम्बिनी भ्रमण वर्ष–२०७६ लाई सफल पार्न एकल प्रयासले नहुने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी भ्रमण वर्षका सचिवालय सदस्य तथा प्रदेश ५ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत टुकराज पाण्डेले लुम्बिनी भ्रमण वर्षको विभिन्न माध्यमबाट सातैवटै प्रदेशमा प्रचाप्रसार भएको बताए । उनले मासिक रुपमा पूर्णिमा दिन बुद्धसंग सम्बन्धित कार्यक्रम भइरहेको बताए । लुम्बिनीको विकासको लागि मन्त्रालयले प्रयास जारी राखेको उनको भनाइ थियो । मन्त्रालयका अधिकृत गणेश घिमिरेले प्रदेशस्तरीय पर्यटन प्रबद्र्दन समिति गठन गरेर काम अगाडी बढेको बताए ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले लुम्बिनी विकास कोषले २०६० सालदेखि नै कर्मचारी पदपूर्ति गर्न नसक्दा कर्मचारीको अभाव झेल्दै आएको बताए । उनले कोष कार्यक्षेत्र ३ वर्गमाइल भन्दा बाहिर जान नमिल्ने बताए । लुम्बिनी भ्रमण वर्षका प्रचारप्रसार समिति संयोजक भरत के.सी.ले लुम्बिनीको पर्यटन प्रबद्र्धन हुन आवश्यक रहेकोमा जोड दिए । उनले भ्रमण वर्षको प्रचारप्रसारमा समिति केन्द्रीत भएको बताए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले रारा ताललाई लुम्बिनीसंग जोड्नुपर्ने बताए ।

पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष दुर्गा भण्डारीले राजधानीमा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार भए जस्तै अन्य क्षेत्रका गन्तव्यहरुको पनि उत्तिकै प्रचारप्रसार आवश्यक रहेको बताए ।

पर्यटन व्यवसायी हेम विष्टले पर्यटक आए पनि उनीहरुको बसाइ लम्ब्याउनु आवश्यक रहेको बताए । कार्यक्रममा सहजीकरण पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशलले गरेका थिए ।

 
 
  
 

You may also like