यस्ता छन् चिन्ताले गर्ने हानी, कम गर्ने उपायहरु

by समतल अनलाइन

कुनै ठूलो समस्या वा कठिनाइ आइपर्दा, डर वा भयमा मानिस आत्तिनु वा चिन्ता लिनु स्वभाविक हो । तर कतिपय मानिस भने साधारण बिषयमा पनि सधैँ मनमा चिन्ता लिने गर्दछन् ।

मानिसले लिने चिन्ता त्यस्तो भावना हो, जो आवश्यकताभन्दा बढी वा नियन्त्रणभन्दा बाहिर गयो भने मानसिक रोगको रूप धारण गर्दछ ।

यस्तोमा मानिसलाई कुनै स्पष्ट कारण वा घटना बिना पनि सधैँ मनमा डर, आशंका, बैचनी र चिन्ता बढ्ने गर्दछ । यद्यपि, चिन्ता आफैँमा रोग भने होइन । तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने गर्दछ ।

चिन्ताले गर्ने हानी

१. कपाल झर्छ

अधिकांश मानिसमा आजकल कपाल झर्ने समस्या आम बनेको छ । कपाल झर्नुको सबैभन्दा ठूलो कारण मानिसमा हुने चिन्ता समेत हो । चिन्ता लिँदा शरीरमा कोर्टिसोल नामक हर्मोन उत्सर्जन भई कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्छ ।

२. खराब यौन जीवन

मानिसमा चिन्ता बढ्दा शरीरभित्र रसायन उत्पन्न भई यसले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज गर्दछ । जसका कारण मानिसमा यौनप्रति इच्छा कम हुन्छ ।

३. डिप्रेसन हुनसक्छ

अधिक चिन्ता लिने वा चिन्तालाई व्यवस्थित गर्न नसके यसले डिप्रेसनका साथै अन्य मानसिक रोग हुनसक्छ ।

४. क्यान्सरसमेत हुनसक्छ

चिन्ता लिने व्यक्तिमा क्यान्सर, फोक्सो, कलेजोसहित उच्च रक्तचाप र मधुमेहजस्ता रोगसमेत लाग्नसक्छ ।

५. दाँतको समस्या

धेरै चिन्ता लिने मानिसमा दाँत खिइने, गिजामा समस्या उत्पन्न हुने लगायतका समस्याहरु देखापर्नेसमेत हुन्छ ।

६. मुटु कमजोर हुने

लामो समयसम्म चिन्ता लिने मानिसको मुटुका मांसपेशी कमजोर भई धड्कन बढ्ने, नशा खुम्चिने तथा रक्तसञ्चारमा बाधा उत्पन्न हुने हुन्छ । जसले हृदयाघातसमेत हुनसक्छ ।

७. मोटोपना बढ्ने

धेरै चिन्ता लिने मानिसमा जति खाए पनि शरीर दुब्लाउने वा अनावश्यक रुपमा मोटोपना बढ्ने समस्या देखापर्छ ।

८. बूढ्यौलीपना आउने

चिन्ता लिने मानिसको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुने, छाला चाउरी पर्ने, मांसपेशी कमजोर हुने लगायतका समस्याले मानिसमा चाढै बूढ्यौलीपना आउँछ ।

९. रोगसँग लड्ने क्षमतामा कमी

चिन्ता लिइरहने मानिसको शरीरमा रोगप्रतिरोधी क्षमता कम हुन गई रोगसँग लड्ने क्षमतामा कमी हुन्छ ।

१०. स्मरण शक्तिमा कमी

अधिकांश समय चिन्तामा डुब्ने मानिसमा स्मरण शक्ति घट्दै जाने समस्या देखापर्छ ।

चिन्ताबाट कसरी बच्ने ?

१. बेजोडले हाँस्ने

यदि मानिसमा चिन्ता लिइरहने बानी छ भने यसलाई कम गर्ने सबैभन्दा राम्रो उपाय भनेको बेलाबेलामा ठूलो हाँसो हाँस्नु पर्दछ । यसले हाम्रो शरीरमा खुशी बनाउने हार्मोन बढ्नुका साथै चिन्ता दिलाउने हार्मोन कम हुन्छ । तर हाँस्ने समय भने निश्चित हुनुपर्छ ।

२. भेटघाट बढाउने

यदि कुनै कारणबस लगातार चिन्ता वा तनाव भएको छ भने कहिल्यै एक्लै बस्नु हँुदैन । सकेसम्म परिवारका सदस्य, साथीभाइ तथा सानानानीहरुसँग घुलमिल हुनसके चिन्ता कम हुँदै जान्छ ।

३. शारीरिक श्रम वा ब्यायाम गर्ने

लामो समयसम्म मानिसमा चिन्ता पर्ने समस्या छ भने सकेसम्म शारीरिक श्रम वा ब्यायाममा समय दिनुपर्छ । यसले शरीरको स्ट्रेस हार्मोनको मात्रा घटाई चिन्ता कम गर्न मद्दत गर्छ ।

४. योग गर्ने

मानिसको शरीरमा रोग तथा चिन्ता कम गर्ने सबैभन्दा राम्रो उपायमध्ये एक योग पनि हो । योगले मानिसमा चिन्ता कम गर्न ठूलो मद्दत गर्छ ।

५. रुची अनुसारको काम गर्ने

यदि मानिसमा चिन्ता बढी रहेको छ भने आफ्नो रुची अनुसारको काममा समय दिनु उत्तम हुन्छ । गीतसंगित सुन्ने, पुस्तक पढ्ने, साईकलिङ गर्ने वा अन्य रुची अनुसारको काम गर्नाले चिन्ता कम हुन्छ ।

 
 
  
 

You may also like