आउँदो मंगलबार मलाई पक्राउ गर्न सक्छन् : ट्रम्प

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो मंगलबार आफू पक्राउ पर्न सक्ने बताएका छन् । एक पूर्व पोर्न स्टारलाई कुरा लुकाउनका लागि पैसा दिएको आरोपमा आफू गिरफ्तार हुनसक्ने सम्भावना रहेको उनी स्वयमले बताए ।

आफैंले बनाएको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’ मा पोस्ट गर्दै ट्रम्पले आफू गिरफ्तार भइहाले प्रदर्शन गर्न समर्थकलाई आह्वानसमेत गरेका छन् । उनलाई अर्को साता अभियोग लगाइने भनी सञ्चारमाध्यममा आएका रिपोर्टका आधारमा ट्रम्पले त्यस्तो सम्भावना व्यक्त गरेको उनका एक वकिलले बताएका छन् ।

उनीविरूद्ध मुद्दा दर्ता भएमा अमेरिकाका पूर्वराष्ट्रपतिविरूद्ध आपराधिक मुद्दा दर्ज भएको पहिलो घटना हुनेछ । सन् २०२४ को राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारमा छनोट हुन् उनले थालेको अभियानलाई पनि यसले गम्भीर असर पुग्नेछ ।

ट्रम्पको तर्फबाट पूर्वपोर्न स्टार स्ट्रोमी डेनियललाई सन् २०१६ को राष्ट्रपति निर्वाचनअघि नै पैसा दिइएको सम्बन्धमा पछिल्लो पाँच वर्षदेखि न्युयोर्कका अभियोजनकर्ताहरूले अनुसन्धान गरिरहेका छन् । डेनियलले आफूलाई ट्रम्पका पूर्ववकिल मिसेल कोहनले सन् २०१६ को निर्वाचनअघि ट्रम्पसँगको सम्बन्धबारे मौन रहन भन्दै १ लाख ३० हजार अमेरिकी डलर दिएको बताएकी छन् ।

ट्रम्पले भने आफूहरूबीच यौन सम्बन्ध रहेको अस्वीकार गरेका छन् । साथै राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै मुद्दा बेवास्ता गरेका छन् । ७६ वर्षीय ट्रम्पमाथि अनुसन्धान चलिरहेका अरू थुप्रै मुद्दामध्ये यो एक हो ।

 
 
  
 

You may also like