दक्षिण कोरियामा नयाँ नियम : अब हप्तामा ६९ घण्टासम्म काम गर्न पाइने

काठमाडौं । दक्षिण कोरिया सरकारले हप्तामा ५२ घण्टा काम गर्न पाउने निमयलाई परिवर्तन गरेर ६९ घण्टा पुर्‍याउने भएको छ ।

कोरियाली सरकारले हिजो प्रस्तुत गरेको नयाँ नियमअनुसार कम्पनीले चाहेमा अब कामदारहरुलाई हप्ताको ६९ घण्टासम्म काम लगाउन सक्ने व्यवस्था भएको एएफपीले जनाएको छ । यसअघि ४० घण्टा नियमित र १२ घण्टा ओभरटाइम गरी ५२ घण्टा काम गर्न पाउने व्यवस्था थियो ।

सन् २०२१ देखि पूर्ण रुपमा लागू भएको ५२ घण्टे व्यवस्थालाई रोजगारदाता कम्पनीहरुले विरोध गरेपछि सरकारले बढाएको हो । अब कम्पनीमा धेरै काम हुँदा दिनमा १३ घण्टासम्म र हप्तामा ६९ घण्टासम्म काम लगाउन सक्ने छन् ।
नियममा कामदारले दिनको ११ घण्टा आराम अनिवार्य गरिने उल्लेख छ । नयाँ नियमअनुसार कम्पनीहरूले साप्ताहिक मात्र नभइ मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक आधारमा ओभरटाइम व्यवस्थापन गर्न पनि सक्ने छ ।

नयाँ नियमअनुसार कामको व्यवस्थापन गर्दा कामदारसँग पनि कामको अवधिबारे सम्झौता हुनुपर्ने व्यवस्था छ । कोरियामा अहिले १६ वटा देशबाट ईपीएसमार्फत् झण्डै चार लाख कामदार काम गरिरहेका छन् । रोजगारदाताहरुले सरकारको नियमलाई स्वागतयोग्य भनेका छन् भने ट्रेड युनियनहरुले रोजगारदातालाई फाइदा हुने गरी ल्याएको नियम भन्दै विरोध गरेका छन् ।

मासिक दुई हजार नेपाली पठाउन कोरियाको पत्राचार
रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत हुने परीक्षा सुधार र श्रमिक पठाउने विषयमा छिटोछरितो काम गरेका कारण कोरियाले नेपालबाट प्रतिमहिना दुई हजार श्रमिक लैजाने भएको छ ।

यो वर्षदेखि कोरियाले १६ देशलाई निश्चित कोटा नछुट्याई छिटो श्रमिक आपूर्ति गर्ने मुलुकबाट धेरै श्रमिक लैजाने नीति लिएको छ । यही नीतिअनुसार नेपालबाट पनि धेरै श्रमिक लिन लागेको हो । दक्षिण कोरियाले यही फेब्रुअरीबाट मासिक रुपमा दुई हजार युवालाई कोरिया पठाउने तयारी गर्न नेपाललाई पत्र पठाएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले नेपालले छिटोछरितो श्रमिक पठाएको र परीक्षा पद्धतिमा समेत सुधार गरेका कारण यहाँबाट धेरै श्रमिक लैजान कोरिया सकारात्मक देखिएको बताएका छन् ।

 
 
  
 

You may also like