अफगानिस्तानका विश्वविद्यालयहरू खुल्दै, महिलालाई अझै पनि प्रतिबन्धित

काबुल । अफगानिस्तानका विश्वविद्यालयहरू जाडो विदापछि सोमबारदेखि खुलेका छन्, तर तालिबान अधिकारीहरूले उच्च शिक्षामा महिलाहरूमाथि प्रतिबन्ध लगाएपछि पुरुषहरू मात्र कक्षामा फर्केका छन् ।

सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएपछि महिलामाथि लगाइएको प्रतिबन्धमध्ये विश्वविद्यालयको प्रतिबन्ध पनि एक हो । ‘आफूहरू घरमै बस्नुपर्ने अवस्था र केटाहरू मात्र विश्वविद्यालय गएको देख्दा मन खिन्न हुन्छ,’ मध्य प्रान्त घोरकी २२ वर्षीया रहेलाले भनिन् । उनले भनिन्, ‘यो बालिकाहरूविरुद्ध लैंगिक भेदभाव हो, किनकी इस्लाम धर्मले हामीलाई उच्च शिक्षा हासिल गर्न अनुमति दिन्छ । हामीलाई सिक्नबाट कसैले रोक्नु हुँदैन ।’

तालिवान सरकारले महिला विद्यार्थीहरूले कडा ड्रेस कोड र क्याम्पसभित्र र बाहिर पुरुष नातेदारको साथमा हुनुपर्ने आवश्यकतालाई बेवास्ता गरेको आरोप लगाउँदै छात्राहरूलाई विश्वविद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।

अधिकांश विश्वविद्यालयहरूले पहिले नै लैङ्गिक–पृथक प्रवेश द्वार र कक्षाकोठाहरू सुरु गरिसकेका थिए, साथै महिलाहरूलाई महिला प्रोफेसरहरू वा वृद्ध पुरुषहरूले मात्र पढाउन अनुमति दिएका थिए ।

अफगानिस्तानको सबैभन्दा ठूलो काबुल विश्वविद्यालयमा इञ्जिनियरिङका विद्यार्थी एजातुल्लाह नेजातीले यो महिलाको पढ्न पाउने मौलिक अधिकार भएको बताए । नेजातील भने, ‘उनीहरू छुट्टाछुट्टै दिनमा कक्षामा उपस्थित भए पनि यो कुनै समस्या होइन । उनीहरूलाई शिक्षाको अधिकार छ र त्यो अधिकार उनीहरूलाई दिनुपर्छ,’ विश्वविद्यालय परिसरमा प्रवेश गर्ने क्रममा उनले भने ।

हेरातमा पत्रकारितामा अध्ययनरत वहीदा दुर्रानीले गत वर्ष विश्वविद्यालयबाट बञ्चित हुनुअघि तालिबान सरकारले महिलाहरू अशिक्षित रहुनन् भन्ने चाहेको बताइन् । उनले भनिन्, ‘यदि अफगानी बालिका र महिलाहरू शिक्षित भए भने उनीहरूले इस्लाम र कुरानको शोषण गर्ने सरकारलाई कहिल्यै स्वीकार गर्ने छैनन् र उनीहरू आफ्नो अधिकारको पक्षमा उभिनेछन् भनी तालिवान सरकारको डराएको र महिलालाई शिक्षाबाट बञ्चित गर्न प्रतिबन्ध घोषणा गरेको छ ।’ एजेन्सी

 
 
  
 

You may also like