टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प

by समतल अनलाइन

अनकारा । सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसको प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७ दशमलव ८ मापन गरिएको छ ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा थियो । यो क्षेत्र गाजिएनटेप नजिकै छ । गाजिएनटेपको लगभग २० लाख जनसंख्या छ, जसमध्ये धेरै सिरियाली शरणार्थीहरू छन् । भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

जर्मन रिसर्च सेन्टर अफ जियोसाइन्सेसलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले ७.७ म्याग्निच्युडको भूकम्प गएको बताएको छ । जीएफजीका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर तल थियो ।

समाचार एजेन्सी एएफपीले यसलाई ७.९ म्याग्निच्युडको भूकम्पको रूपमा वर्णन गरेको छ । टर्कीको सरकारी सञ्चार माध्यम टीआरटीका अनुसार भूकम्पपछि मानिसहरु घरबाट बाहिर निस्केर सडकमा भेला भएका छन् । एक जना प्रत्यक्षदर्शीले रोयटर्सलाई भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुस भएको बताए ।

 
 
  
 

You may also like