पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

by समतल अनलाइन

काठमाडौँ । अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको छ”, मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “यसले मध्य पहाडी भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउने छ । ” देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ । देशको पश्चिमी वायुको प्रभाव बलियो हुँदा पश्चिमतिर रहेको उच्च हिमाली भेगमा रातिदेखि नै हिमपात हुने अनुमान महाशाखाले गरेको छ ।
आगामी तीन दिन यसै अवस्थामा मौसम सक्रिय हुने भएको छ । अरबको आँधीको असर भारतको दिल्लीमा परेसँगै त्यहाँ वर्षात् सुरु भएको छ । दिल्लीमा वर्षा भएपछि त्यहाँको प्रदूषण कम हुने अनुमान गरिएको छ । तर, आँधीका कारण दक्षिण–पश्चिम भएर बगिरहेको वायुले केही प्रदूषण हावासँगै नेपाल भिœयाएको कँडेलले बताउनुभयो ।
हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले भनेको छ । यात्रामा जाँदै हुनुहुन्छ भने उच्च हिमाली भेगमा नजान आग्रह गरेको छ । यो बेलामा हुने सामान्य हिमपातले पनि ठूलो असर पु¥याउने भएकाले हिमाली यात्रामा रहेकाले ख्याल गर्न सुझाव दिइएको छ ।
त्यस्तै अन्नबाली कटानसमेत केही दिन रोक्न किसानलाई भनिएको छ । काटेको धानबाली वर्षाका कारण नष्ट हुन सक्ने भएकाले केही दिनपछि मात्र निरन्तरता दिन मौसमविद् सुझाउँछन् ।

 
 
  
 

You may also like