नाइजेरियामा बन्दुकधारीद्वारा दर्जनौं बालबालिकाको अपहरण

by समतल अनलाइन

कानो, नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्ने करिब ४० जना बालबालिकालाई एक आपराधिक समूहले अपहरण गरी लगेको छ । उक्त समूहले अपहरणमा परेका बालबालिकालाई छुटाउन फिरौती मागेको प्रहरी र एक स्थानीय अधिकारीले बुधबार बताएका छन् ।

कात्सिना राज्यको फास्करी जिल्लाको मैरुवा गाउँबाहिर आइतबार मोटरसाइकलमा आएका दर्जनौँ बन्दुकधारीले खेतमा पसेर बाली काटिरहेका ३९ जना बालबालिकालाई नियन्त्रणमा लिएको प्रहरी र अधिकारीले बताएका छन् । कात्सिना उत्तरपश्चिम र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो जुन स्थानीय रूपमा आपराधिक गिरोह (डाँकु) हरूद्वारा आतङ्कित छन् । त्यहाँ डाँकाहरूले गाउँहरूमा आक्रमण गर्छन्, बासिन्दाहरूको हत्या र अपहरण गर्छन् साथै लुटपाट र घरहरू जलाउँछन् ।

जाम्फारा, कात्सिना, काडुना र नाइजर राज्यको विशाल रुगु जङ्गलमा लुकेर बसेका गिरोहलाई फिरौती रकम बुझाएपछि बन्धक बनाएर छाडिन्छ । कात्सिना प्रहरीप्रवक्ता गाम्बो इसाहले भने, ‘डाँकुहरूले मैरुवाको एक खेतमा आक्रमण गरी खेतमा काम गर्ने कम उमेरका मजदुरहरूलाई लगेका छन् ।’

‘बन्धक बनाइएकाहरूलाई उद्धार गर्न र अपराधीहरूलाई पक्रन हाम्रा कर्मचारीहरू मिसनका साथ त्यस क्षेत्रमा परिचालित भएका छन्’, इसाहले भने । फस्कारीका एक स्थानीय सरकारी अधिकारीका अनुसार सयौं मजदुरले काम गरिरहेकाले डाँकुहरू मोटरसाइकलमा चढेर खेतमा पसेका थिए ।

‘धेरै छिटो दौडन सक्ने वयस्क कामदारहरू भाग्न सफल भए तर डाकुहरूलाई उछिन्न नसक्ने ३९ जना बालबालिकाहरू उनीहरूको कब्जामा परे’, ती अधिकारीले भने । अधिकारीका अनुसार बन्धक बनाइएकामध्ये ३३ जना केटा र केट हरु मैरुवा गाउँका थिए भने अन्य छ जना नजिकैको अर्को गाउँका थिए ।

उनले लुटेराहरूले बन्धक बनाइएकामध्ये एक जनाको टेलिफोन प्रयोग गरेर फिरौती मागेका थिए । अधिकारीका अनुसार फार्म म्यानेजरले यसअघि डाकुहरूसँग सम्झौता गरेका थिए, जसले बाली काट्न दिनका लागि सुरक्षा रकम मागेका थिए र उनीहरूलाई पैसा पनि तिरिएको थियो ।

राष्ट्रपति मुहम्मदु बुहारीलाई दोस्रो चार वर्षे कार्यकालपछि अर्को वर्ष पदबाट हट्नुअघि सुरक्षा चुनौतीको सामना गर्न दबाब दिइएको छ । अफ्रिकाको सबैभन्दा बढी जनंख्या भएको देश नाइजेरिया उत्तरपश्चिमी र मध्य क्षेत्रमा डाकु गिरोह, उत्तरपूर्वमा जिहादी हिंसा र दक्षिणपूर्वमा पृथकतावादी आन्दोलनसँग जुधिरहेको छ । सिन्ह्वा

 
 
  
 

You may also like