साल्बर्गलाई हराउँदै मिलान नकआउट चरणको यात्रामा

by समतल अनलाइन

काठमाडौँ । ओलिभर जिरोडले दुई गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरेपछि एसी मिलानले बुधबार एफसी साल्सबर्गलाई ४–० ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा तय गरेको छ ।

मिलान अन्तिम १६ मा पुगेको आठ वर्षयता पहिलो पटक हो । मिलानले समूह ‘ई’ यो खेल कम्तीमा बराबरीमा रोके अर्को चरण पुग्ने निश्चित थियो ।

यो जितसँगै मिलान समूहको दोस्रो स्थानमा रह्यो । शीर्ष स्थानमा चेल्सीले अर्को खेलमा डायनामो जागरेभलाई २–१ ले हरायो । समूह ‘एफ’ मा रियल म्याड्रिडले सेल्टिकलाई ५–१ र आरबी लाइपजिगले साख्तर डोनेस्कलाई ४–० ले हरायो । रियल यसअघि नै अन्तिम १६ पुगिसकेको छ भने लाइपजिग जितसँगै नकआउट चरणको यात्रा निश्चित गर्‍यो ।

यस्तै समूह ‘जी’ मा म्यानचेस्टर सिटीले सेभियालाई ३–१ ले हरायो भने बोरुसिया डर्टमुन्डले एफसी कोपनहेगनसँग १–१ को बराबरी खेले । समूह ‘एच’ मा भने बेनफिका विजेता रह्यो । यसका लागि उसले मकाबी हाइफालाई ६–१ ले पन्छायो । दोस्रो स्थानमा चित्त बुझाएको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने युभेन्ट्सलाई २–१ ले निराश पार्‍यो ।

 
 
  
 

You may also like